एक दशकपछि निर्देशनमा फर्किए निर शाह, ‘कमला मिस’ मार्फत पर्दामा उतार्दैछन् मानव मनोविज्ञान



काठमाडौं – नेपाली चलचित्र क्षेत्रका वरिष्ठ व्यक्तित्व तथा बहु आयामिक प्रतिभा निर शाह लामो अन्तरालपछि पुनः निर्देशकको भूमिकामा फर्केका छन्‌। करिब एक दशक लामो विश्रामलाई बिट मार्दै उनले मनोवैज्ञानिक कथावस्तुमा आधारित नयाँ चलचित्र ‘कमला मिस’को छायाङ्कन आरम्भ गरेका हुन्‌।

ललितपुरको इमाडोलस्थित न्यु मिलेनियम स्कुलको परिसरमा शुक्रवार वैदिक विधिपूर्वक शुभ मुहूर्त सम्पन्न गरी यस चलचित्रको औपचारिक थालनी गरियो। विजय मल्ल स्मृति प्रतिष्ठानको प्रस्तुतिमा निर्माण हुन लागेको यो चलचित्रले मानव मनका अन्तरकुन्तर र सूक्ष्म मनोवैज्ञानिक आयामहरूलाई मुख्य विषयवस्तु बनाएको छ। साहित्यकार विजय मल्लको मूल कथामा आधारित यस चलचित्रको पटकथा तथा संवाद स्वयं निर्देशक शाहसहित प्रजल दुलाल र सुगम दुलालले संयुक्त रूपमा तयार पारेका हुन्।

पर्दामा स्वयं निर शाहसहित बासना तिमिल्सिना, शिवम सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, सुशान्त कुमार श्रेष्ठ र जयन्त रेग्मी मुख्य भूमिकामा देखिनेछन्। उमेश मल्ल र चैतन्य प्रधान कार्यकारी निर्माता रहेको यस प्रोजेक्टमा पुष्कर लामा (प्रेम भोम्जन) लाइन प्रोड्युसर रहेका छन्।

विक्रम संवत् २०२४ सालमा हिरासिंह खत्रीद्वारा निर्देशित चलचित्र ‘परिवर्तन’ बाट आफ्नो कला यात्रा सुरु गरेका शाह नेपाली रजतपटका एक जीवित इतिहास हुन्। उनको निर्देशनमा बनेका ‘वासुदेव’, ‘राजमती’, ‘वसन्ती’, ‘मसान’ र ‘सेतो बाघ’ जस्ता चलचित्रहरूले नेपाली सिनेमालाई ऐतिहासिक र साहित्यिक उचाइ प्रदान गरेका छन्। 

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu