साढे ३ करोड लगानीमा इलाम पुग्यो ‘फ्रेन्डस् सिनेमाज्’, शुक्रवारदेखि औपचारिक प्रदर्शन सुरु हुने



काठमाडौं – धरान र बुटवलजस्ता प्रमुख सहरहरूमा दर्शकको मन जित्न सफल ‘फ्रेन्डस् सिनेमाज्’ले अब पूर्वी पहाडी जिल्ला इलाममा आफ्नो व्यावसायिक यात्रा विस्तार गरेको छ। आधुनिक सुविधासहितको सिनेमा हलको अभाव महसुस गरिरहेका इलामका दर्शकलाई लक्षित गर्दै फ्रेन्डस् सिनेमाले आफ्नो तेस्रो शाखाको रूपमा इलाम नगरपालिका–७ मा नयाँ चलचित्र भवन सञ्चालनमा ल्याउन लागेको हो।

यही शुक्रवारदेखि औपचारिक रूपमा सञ्चालनमा आउने यो मल्टिप्लेक्स स्तरको हल निर्माणमा करिब साढे तीन करोड रुपैयाँ लगानी भएको छ। फ्रेन्डस् सिनेमाका निर्देशक आशिस तामाङका अनुसार, यो नयाँ पूर्वाधारले स्थानीय चलचित्र प्रेमीहरूलाई उच्चस्तरीय सिनेमाको अनुभव प्रदान गर्नेछ। एक स्क्रिन (पर्दा) रहेको यस हलमा एकैसाथ १९० जना दर्शकले चलचित्र हेर्न सक्ने क्षमता रहेको छ। चलचित्र विकास बोर्डबाट सञ्चालनको अनुमति प्राप्त भइसकेकाले शुक्रवारबाटै नियमित शोहरू सुरु हुने तयारी पूरा भएको छ।

प्रायः सुविधा सम्पन्न सिनेमा हलहरू काठमाडौँ र ठुला व्यापारिक सहरहरूमा मात्र सीमित भइरहेको परिप्रेक्ष्यमा इलामजस्तो पहाडी जिल्लामा लगानी गर्नुलाई निर्देशक तामाङले बजार विस्तारको रणनीतिक कदमको रूपमा व्याख्या गरेका छन्। नेपाली चलचित्रको बजारलाई साँच्चै फराकिलो बनाउने हो भने सहर केन्द्रित मानसिकताबाट बाहिर निस्केर गाउँ–गाउँसम्म सिनेमा साक्षरता र प्रदर्शनीको पहुँच पुर्‍याउनुपर्ने उनको तर्क छ। हरेक जिल्लामा दर्शकलाई हलसम्म तान्न सक्ने वातावरण र पूर्वाधार तयार भए मात्र घरेलु बजार सुदृढ हुने विश्वास उनले व्यक्त गरे।

ठुला सहरभन्दा बाहिरका दर्शकहरू सिनेमा हलको पहुँचबाट टाढा रहेको यथार्थ औँल्याउँदै निर्देशक तामाङले जिल्ला तहमा साना तर व्यवस्थित हलहरू खोल्न सके अहिलेको नेपाली बक्स अफिसको बजार हिस्सा दोब्बरभन्दा बढीले वृद्धि हुने दाबी गरे। भविष्यमा सम्भावना हेरेर अन्य जिल्लाहरूमा पनि शाखा विस्तार गर्दै लैजाने योजना रहेको व्यवस्थापन पक्षले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu