रिलिजको तीन दिनपछि आयो ‘श्री बुकुरो’को नयाँ गीत



Screenshot

काठमाडौं – महाशिवरात्रि र प्रणय दिवसको अवसर पारेर गत फागुन १ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘श्री बुकुरो’ ले बक्स अफिसमा सुखद प्रतिक्रिया बटुलिरहेको छ। एकै पटक धेरै चलचित्रहरू प्रदर्शनमा आउँदा हलमा ‘शो’ को चाप बढे पनि ‘श्री बुकुरो’ ले पाएका शोहरूमा दर्शकको उत्साहजनक उपस्थिति देखिएको दाबी गरिएको छ।

विशेष गरी, विशुद्ध पारिवारिक कथावस्तुमा निर्माण भएको यस चलचित्रलाई दर्शकले मुक्तकण्ठले प्रशंसा गरेका छन्। हलबाट निस्किएका दर्शकहरूको सकारात्मक प्रतिक्रियाले आफूमा थप ऊर्जा र हौसला मिलेको अनुभव निर्देशक सुदीप भूपाल सिंहले साटेका छन्। पारिवारिक सम्बन्धको मर्मस्पर्शी कथाले दर्शकलाई बाँध्न सफल भएको निर्माण पक्षको दाबी छ।

यसै सेरोफेरोमा, निर्देशक सिंहले प्रणय दिवस (भ्यालेन्टाइन डे) को अवसर पारेर चलचित्रको एउटा रोमान्टिक गीत दर्शकमाझ पस्किएका छन्। ‘मायालुको मुस्कान’ बोलको उक्त गीतमा चलचित्रका मुख्य बाल कलाकारहरू किशोरावस्थामा प्रवेश गरेपछिको प्रेमिल सम्बन्धलाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ। दर्शकका लागि ‘भ्यालेन्टाइन गिफ्ट’ स्वरूप सार्वजनिक गरिएको यस गीतमा निर्देशक सुदीप स्वयंको शब्द रचना रहेको छ भने विक्रम कार्कीले सङ्गीत तथा एरेन्ज गरेका छन्। गीतमा सन्देश पौडेलको सुमधुर स्वर सुन्न सकिन्छ।

‘फिल्म रेन्ज’ को ब्यानरमा रुबी सेन सिंहद्वारा निर्मित यस चलचित्रमा पुराना र नयाँ पुस्ताका कलाकारहरूको अभिनय देख्न सकिन्छ। चलचित्रमा आशीर्वाद क्षेत्री, निकिता आचार्य, लक्ष्मी गिरी, प्रतीकराज आचार्य, रोशनी कार्की, राजन ईशान, दीपिका थापा, लय सङ्ग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मि भट्ट, उत्तम केसी लगायतका कलाकारहरूको अभिनय रहेको छ।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu