निर्देशनमा रेखा थापाको ‘कमब्याक’: तीन ‘मिस नेपाल’ र मदनकृष्णको साथमा घोषणा भयो ‘माया भनेकै यस्तो होला’



काठमाडौं – नेपाली रजतपटकी सदाबहार अभिनेत्री रेखा थापा लामो अन्तरालपछि पुनः क्याप्टेन अफ द सिप अर्थात् निर्देशकको भूमिकामा फर्किएकी छन् । महाशिवरात्रिको पावन अवसर पारेर आइतबार राजधानीमा आयोजित एक भव्य समारोहबिच उनको निर्देशनमा बन्न लागेको नयाँ चलचित्र ‘माया भनेकै यस्तो होला’ को औपचारिक घोषणा गरियो । ‘हिम्मतवाली’ र ‘मालिका’ जस्ता सफल चलचित्रको कमान सम्हालिसकेकी रेखाको यो तेस्रो निर्देशकीय प्रयास हो, जुन झन्डै आठ वर्षपछि जुरेको हो ।

यस पटक रेखाको निर्देशन यात्रा विगतभन्दा पृथक् रहनेछ । उनले आफ्नै गृह निर्माण संस्था ‘रेखा फिल्मस्’को घेरा तोड्दै बाहिरी ब्यानर ‘दिया एन्ड अमु फिल्मस्’को चलचित्र निर्देशन गर्ने आँट गरेकी छन्। यसका निर्माता हरि नारायण श्रेष्ठ र माया देवी श्रेष्ठको लगानी रहनेछ।

यस चलचित्रमा वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठ र अभिनेता दिल श्रेष्ठको साथमा पूर्व मिस नेपालहरूको जम्बो टोली देखिनेछ । जसमा पूर्व मिस नेपाल द्वय सृष्टि श्रेष्ठ र नम्रता श्रेष्ठ तथा पूर्व मिस नेपाल इन्टरनेसनल नीति शाह एकसाथ पर्दामा देखिँदै छन् ।

कार्यक्रममा बोल्दै निर्देशिका रेखा थापाले यो चलचित्र केवल काल्पनिक नभई समाजकै ऐना भएको बताइन् । उनले आफ्नो, दर्शकको र समाजमा घटिरहेका यथार्थ घटनाहरूलाई नै पर्दामा उतार्न लागेको जिकिर गरिन् । साथै, तीन जना ‘मिस नेपाल’ को उपस्थितिलाई प्रस्ट्याउँदै उनले यो केवल ‘ग्ल्यामर’ का लागि नभई कथाको माग र पात्रको औचित्यका आधारमा छनोट गरिएको स्पष्ट पारिन् । अभिनेता दिल श्रेष्ठको तारिफ गर्दै रेखाले यदि उनले निरन्तरता दिएको भए उनी अहिलेसम्म स्थापित भइसक्ने क्षमतावान् कलाकार रहेको बताइन् ।

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले रेखाको निर्देशनमा काम गर्न पाउनुलाई एउटा नयाँ अनुभव र छुट्टै संसारमा प्रवेश गरेजस्तो महसुस भएको बताए । उनले यस चलचित्रमा आफू हास्य विधाभन्दा माथि उठेर एउटा सशक्त र गम्भीर भूमिकामा देखिन लागेको जानकारी दिए । उता अभिनेता दिल श्रेष्ठले लामो समयपछि अभिनयमा फर्किन पाउँदा र मिस नेपालहरूसँग स्क्रिन सेयर गर्न पाउँदा उत्साहित भएको प्रतिक्रिया दिए । अभिनेत्रीहरू सृष्टि र नम्रताले रेखा थापाजस्तो ‘लिजेन्डरी’ व्यक्तित्वको निर्देशनमा काम गर्न पाउनुलाई प्रेम र विश्वासको प्रतीकका रूपमा लिएको बताए ।

करिब एक दशकपछि लेखनमा फर्किएका लेखक ध्रुव लम्सालले चलचित्रको पटकथामा निकै मिहिनेत गरिएको भन्दै यो चलचित्रले दर्शक र समीक्षक दुवैको मन जित्ने दाबी गरे । सुदीप बरालको छायाङ्कन रहने चलचित्रमा प्रशान्त सिवाकोटीको सङ्गीत, सुजेनी मल्लको ड्रेस डिजाइन र अनिरुद्ध आत्रेयको मुख्य सहायक निर्देशन रहनेछ । साथै, चलचित्रमा लक्ष्मी गिरी, राजाराम पौडेल, विशाल पहाडी लगायतका कलाकारहरूको पनि अभिनय रहनेछ । फागुनको दोस्रो साताबाट छायाङ्कन सुरु हुने ‘माया भनेकै यस्तो होला’ लाई आगामी वर्षको हरितालिका तीजमा प्रदर्शन गर्ने लक्ष्य निर्माण पक्षले राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu