
काठमाडौं – छायाङ्कनमा निस्कन लागेको चलचित्र ‘जिरो डिग्री’को व्यङ्ग्यात्मक गीत सार्वजनिक गरिएको छ। समसामयिक राजनीति र नेताहरूप्रति तिखो व्यङ्ग्य प्रहार गरिएको ‘अरे हो नेता जी’ बोलको गीत मङ्गलवार ‘मुभिज् डिजीटेन्मेन्ट’ युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।
गीतमा अभिनेता विजय बराल र गायक अङ्कित बाबु अधिकारीको स्वर रहेको छ। गीतमा सङ्गीत पनि अङ्कित बाबु अधिकारीकै रहेको छ भने शब्द युवराज काफ्लेले लेखेका हुन्।
गीतको भिडियोमा अभिनेता विजय बराललाई प्रस्तुत गरिएको छ। गीतमा आम नागरिकले विकास निर्माणबारे प्रश्न गर्दा नेताले दिने टालटुले जवाफ र ‘यही हो विकास’ भन्दै देखाउने प्रवृत्तिलाई व्यङ्ग्यात्मक शैलीमा चित्रण गरिएको छ।
‘जिरो डिग्री’को कथा र तयारी मेघौली फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको ‘जिरो डिग्री’को कथावस्तु निकै मौलिक रहेको छ। सडक सञ्जालले नछोएको एक दुर्गम गाउँमा आमाबुवाको निधनपछि विदेशमा रहेका सन्तान आइपुगुन्जेल शव सुरक्षित राख्न ‘डीप फ्रिज’ बोकेर गाउँ भित्र्याएपछि उत्पन्न हुने उथलपुथलपूर्ण घटनाहरू र ‘डार्क कमेडी’ मा चलचित्र आधारित छ। निर्देशकका अनुसार यो चलचित्र फ्रिज गाउँ पुर्याउने कथामा मात्र सीमित नभई समाजका गहिरा यथार्थहरू उजागर गर्ने प्रयास हो।
चलचित्रको निर्देशन एवं पटकथा तथा संवाद आकास बराल र साजन काफ्लेले गर्दैछन्। यस चलचित्रका कथाकार राजन भुसालले यस चलचित्रमा अभिनय समेत गर्दैछन्। चलचित्रका कार्यकारी निर्माता मोती कार्की रहेका छन्।
निशाल पौडेलले छायाङ्कन गर्ने यस चलचित्रको सम्पादन चानस मगर र कला निर्देशन रिक वेदले सम्हाल्नेछन्। पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट)को रहेको छ। ‘जिरो डिग्री’को वितरण कुबेर सिने डिस्ट्रिब्युसनले गर्नेछ।



