
काठमाडौं – अभिनयमा रुचि राख्ने र नेपाली चलचित्र क्षेत्रमा आफ्नो भविष्य खोजिरहेका नवप्रतिभाहरूका लागि एउटा सुनौलो अवसर आएको छ । रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको नयाँ नेपाली कथानक चलचित्र ‘कालकट्टी’ का लागि पात्रहरूको खोजी (कास्टिङ कल) सुरु गरिएको हो । सञ्चारकर्मी समेत रहेका निर्माता रघुनाथ सापकोटाको लगानी र अमरदीप सापकोटाको लेखन तथा निर्देशनमा बन्न लागेको यस चलचित्रले अडिसनमार्फत कलाकार छनोट गर्ने प्रक्रिया अघि बढाएको छ ।
निर्माण पक्षले चलचित्रको कथा र चरित्रको माग अनुसार विभिन्न उमेर समूहका कलाकारहरूको खोजी गरेको छ । विशेष गरी, २० देखि २६ वर्ष उमेर समूहकी एक जना ‘सेकेन्ड लिड’ अभिनेत्रीको प्रमुख आवश्यकता रहेको जनाइएको छ । यसका साथै, कथाको महत्त्वपूर्ण हिस्सा ओगट्ने २५ देखि ३० वर्ष उमेर समूहका तीन जना पुरुष कलाकारहरूको पनि खोजी भइरहेको छ । चलचित्रमा वयस्क कलाकारका अलावा बाल कलाकारहरूको पनि विशेष भूमिका रहनेछ, जसका लागि एक जना बालक र दुई जना बालिकाको अडिसन लिइने निर्माण टिमले जानकारी दिएको छ ।
यस अवसरको सदुपयोग गर्न चाहने इच्छुक व्यक्तिहरूले डिजिटल माध्यमबाटै आफ्नो आवेदन पेस गर्न सक्नेछन् । अडिसनमा सहभागी हुनका लागि निवेदकले आफ्नो व्यक्तिगत विवरण (बायोडाटा), हालसालै खिचेको तस्बिर तथा उचाइ र तौलको स्पष्ट जानकारी खुलाई निर्माण कम्पनीको आधिकारिक इमेल ठेगाना [email protected] मा पठाउनुपर्नेछ । साथै, यदि निवेदकले यसअघि कुनै चलचित्र, लघु चलचित्र वा भिडियोहरूमा अभिनय गरेको अनुभव छ भने सोको लिङ्क पनि समावेश गर्न आग्रह गरिएको छ । प्राप्त आवेदनहरूमध्ये प्रारम्भिक छनोटमा परेका उम्मेदवारहरूलाई मात्र अडिसनको मिति र स्थानबारे इमेलमार्फत जानकारी गराइनेछ ।
नेपाली चलचित्र क्षेत्रमा नयाँ सोच, ऊर्जा र मौलिक प्रस्तुति पस्कने उद्देश्य राखेको ‘कालकट्टी’ युनिट यति बेला प्रि-प्रोडक्सनको अन्तिम तयारीमा जुटेको छ । निर्माण पक्षका अनुसार आगामी चैत्रको पहिलो सातादेखि चलचित्रको छायाङ्कन सुरु गर्ने कार्य तालिका तय गरिएको छ । चलचित्रलाई वि.सं. २०८३ सालभित्र प्रदर्शनमा ल्याउने लक्ष्य राखिएको छ ।



