तुलसी घिमिरेकी छोरीको पहिलो चलचित्र ‘पहाड’ नयाँ वर्षमा रिलिज हुने



काठमाडौं – वरिष्ठ निर्देशक तुलसी घिमिरेको निर्देशन रहेको चलचित्र ‘पहाड’को प्रदर्शन मिति औपचारिक रूपमा घोषणा गरिएको छ। आफ्ना कालजयी सिर्जनामार्फत दशकौँदेखि दर्शकको मनमा राज गर्न सफल घिमिरेले आगामी वि.सं. २०८३ को नयाँ वर्ष अर्थात् वैशाख १ गतेलाई आफ्नो चलचित्र प्रदर्शनको विशेष दिनका रूपमा तय गरेका छन्।

देशको वर्तमान पेचिलो सामाजिक मुद्दालाई पर्दामा उतार्ने प्रयास स्वरूप निर्माण भएको यो चलचित्रले वैदेशिक रोजगारी र बसाइँ सराइका कारण रित्तिँदै गएका पहाडी बस्तीहरूको मार्मिक कथा बोल्नेछ। युवा जनशक्ति विदेश पलायन हुँदा पहाडमा छाएको शून्यता र त्यसले निम्त्याएको गम्भीर सामाजिक तथा आर्थिक सङ्कटलाई चलचित्रको मूल मर्म बनाइएको छ। चलचित्रको लेखन समेत सम्हालेका निर्देशक घिमिरेका अनुसार, ‘पहाड’ ले समाजको तीतो तर यथार्थ चित्रलाई कलात्मक ढङ्गले दर्शकमाझ पस्कने जमर्को गरेको छ। मानव बसोबासविहीन बन्दै गएको उच्च पहाडी क्षेत्रको कथा समेट्दै चलचित्रले नागरिकको दायित्व र देशको आवश्यकतालाई समेत चित्रण गर्नेछ।

चलचित्रको कथावस्तु पारिवारिक संवेदना र माटोको सुगन्धसँग जोडिएको हुनाले, चाडपर्वको उल्लाससहित स–परिवार हलसम्म पुग्ने वातावरण बनोस् भन्ने उद्देश्यले नयाँ वर्षको मिति रोजिएको निर्देशक घिमिरेले बताए। उनले दर्शकले चलचित्रमा आफ्नै भोगाइ र अपनत्व महसुस गर्ने दाबी समेत गरेका छन्।

‘पहाड’ मार्फत निर्देशक घिमिरेले नेपाली रजतपटमा पुरानो र नयाँ पुस्ताको अभूतपूर्व सङ्गम गराएका छन्। लामो अन्तरालपछि वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठसँग ‘बलिदान’ पछि र अभिनेता सुनिल थापासँग ‘चिनो’ पछि घिमिरेको पुनः सहकार्य जुरेको छ। पुराना कलाकारहरूको खारिएको अभिनय र नयाँ पुस्ताको जोसले चलचित्रलाई जीवन्त बनाएकोमा उनी विश्वस्त देखिन्छन्। चलचित्रमा विपिन कार्की, रेणुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ, सलोना बज्राचार्य लगायतका कलाकारहरूको सशक्त अभिनय देख्न पाइनेछ।

विशेष कुरा त के छ भने, यसै चलचित्रमार्फत निर्देशक घिमिरेले आफ्नी कान्छी छोरी पञ्चमी घिमिरेलाई अभिनेत्रीका रूपमा नेपाली चलचित्र क्षेत्रमा भित्र्याउँदै छन्। त्यस्तै, चलचित्रको निर्माण र प्राविधिक पक्षमा पनि घिमिरे परिवारको सक्रिय सहभागिता रहेको छ; जेठी छोरी भावना घिमिरेले प्रोडक्सन डिजाइनरको महत्त्वपूर्ण जिम्मेवारी सम्हालेकी छिन् भने भारती घिमिरे क्रिएटिभ निर्देशकको भूमिकामा छिन्।

भाग्यरत्न फिल्म्स प्रालिको ब्यानरमा ओजस्वी केसीद्वारा निर्मित तथा रिम्पोछे लामा थिङ्ग र सुरेश लामा थिङ्ग सह–निर्माता रहेको यो चलचित्रलाई नेपालमा वैङ्कटेश इन्टरटेनमेन्ट र डायस्पोरामा सेभेन सिज इन्टरनेशनल फिल्म्सले वितरण गर्ने जिम्मा लिएका छन्। रञ्जित गजमेरको सुमधुर सङ्गीत र अनुभवी छायाकार प्रमोद प्रधानको क्यामेरामा कैद भएको ‘पहाड’ ले नेपाली चलचित्र प्रेमीहरूलाई पुनः हलसम्म तान्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu