जितुको जोडी बनिन् ‘मुन्नी’



काठमाडौं – चलचित्र ‘कार्की साइँला’को निर्माण पक्षले आफ्नो प्रमुख अभिनेत्रीको टुङ्गो लगाएको छ। हास्य विधाका चर्चित अभिनेता जितु नेपालको मुख्य भूमिका रहने यस चलचित्रमा अब अभिनेत्रीका रूपमा प्रियना आचार्य (मुन्नी) देखिने भएकी छिन्। निर्माण टोली र अभिनेत्री आचार्यबिच चलचित्रका लागि औपचारिक सम्झौता सम्पन्न भएसँगै फिल्मको ‘लिड कास्टिङ’ ले पूर्णता पाएको हो।

राजेन्द्र बस्नेतको निर्देशकीय नेतृत्वमा तयार हुन लागेको यो चलचित्रको कथा र परिवेशले मागेअनुरूप नै प्रियनालाई अनुबन्धित गरिएको निर्माण पक्षले स्पष्ट पारेको छ। अभिनेत्रीको प्रवेशसँगै निर्माण टोली अब उत्साहका साथ छायाङ्कनको तयारीमा जुटेको छ। पूर्वी नेपालको पहाडी जिल्ला धनकुटालाई चलचित्रको मुख्य छायाङ्कन स्थल बनाइने भएको छ। निर्देशक बस्नेतका अनुसार कथाको मौलिकता र पटकथाको मागलाई न्याय गर्नका लागि धनकुटाका विभिन्न रमणीय तथा ऐतिहासिक स्थानहरूमा फिल्मको छायाङ्कन गरिनेछ। यस विषयमा थप जानकारी केही दिनभित्रै सार्वजनिक गरिने निर्माण टिमको योजना छ।

कर्णबहादुर फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण हुने यस चलचित्रमा जितु र प्रियनाको जोडीका अलावा सुशील पोखरेल, वीरेन्द्र सिंह कुशवहा, मान्शी शर्मा, मनिल तामाङ, रेणुका आचार्य, दिप्सन लिम्बु, रोदा राई र कमल देवकोटा लगायतका कलाकारहरूको सशक्त अभिनय रहनेछ। बालकुमार राई निर्माता रहेको यस प्रोजेक्टलाई कृष्ण भगत चाम्लिङले प्रस्तुत गर्दैछन्। चलचित्रको प्राविधिक पक्षतर्फ डम्बर राईले छायाङ्कनको जिम्मा सम्हाल्नेछन् भने द्वन्द्व निर्देशनमा किरण दाहाल र सङ्गीतमा दिप्सन लिम्बु रहनेछन्। मुख्य सहायक निर्देशकको भूमिका रोजल थापाले निर्वाह गर्नेछन् भने प्रोडक्सनको जिम्मेवारी सिबी भण्डारीले लिएका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu