
काठमाडौं – कुनै पनि चलचित्र रिलिज हुँदा दुई वटा नतिजाको अपेक्षा गरिन्छ, ‘कि त बक्स अफिसमा पैसाको वर्षा, कि त दर्शक र समीक्षकको वाह वाही।’ तर, कहिलेकाहीँ उद्योगमा यस्तो विरोधाभास देखिन्छ, जहाँ समीक्षकले चलचित्रलाई उत्कृष्ट भन्छन्, दर्शकले कथाको प्रशंसा गर्छन्, तर निर्माताको गोजी भने रित्तै रहन्छ। हालै प्रदर्शनमा आएको चलचित्र ‘कुमारी’ ले ठ्याक्कै यही नियति भोग्यो।
‘प्रकाश’ जस्तो सशक्त चलचित्र दिएर उद्योगमा आफ्नो अलग छाप बनाएका निर्माताका लागि ‘कुमारी’ को व्यावसायिक असफलता एउटा पाठ बनेको छ। उनी चलचित्रको यो नतिजालाई लुकाउने वा ढाकछोप गर्ने प्रयासमा छैनन्, बरु एक परिपक्व व्यवसायी झैँ यसको निर्मम समीक्षा गर्न तयार देखिन्छन्।
चलचित्रलाई उनी विशुद्ध व्यवसाय मान्छन्। “हरेक व्यवसायको उद्देश्य नाफामूलक हुनुपर्छ,” उनी स्पष्ट भन्छन्। तर, सधैँ सोचेजस्तो नतिजा नआउने यथार्थलाई पनि उनी उत्तिकै सहजताका साथ स्विकार्छन्। “मेरो बुझाइमा कुनै पनि व्यवसायले यदि नाफा आर्जन गर्न सकेन भने त्यसको कारक तत्त्व पत्ता लगाई तुरुन्त समाधान गर्नुपर्छ,” उनी भन्छन्, “यदि यो समस्यालाई हलुका रूपमा लियो भने यसपछिका अरू निर्माताहरूलाई पनि लगानी गर्न एक चोटि सोच्न बाध्य बनाउँछ।” तर, उनी हताश छैनन्। व्यवसायमा ‘युनिभर्सल फ्याक्ट’को नियम लागू हुने उनको तर्क छ, “व्यवसाय सधैँ नाफामूलक मात्र नभई कहिलेकाहीँ नाफारहित पनि हुन सक्छ।” ‘कुमारी’ लाई उनी यसैको ज्वलन्त उदाहरण मान्छन्।
एउटा चलचित्र असफल हुँदा पर्दा पछाडि लगानी गर्ने निर्माताको मनोविज्ञान कस्तो हुन्छ ? उनी भन्छन्, “व्यवसायले सोचे अनुसार व्यापार नगरिसकेपछि निर्मातामा नकारात्मक असर त पर्छ नै।” तर यो असर आर्थिक मात्र होइन। उनका अनुसार चलचित्रसँग जोडिएका प्राविधिकदेखि कलाकारसम्म हरेक व्यक्तिको आशाको केन्द्रबिन्दु नै निर्माता हुन्। त्यसैले जब लगानी डुब्छ, निर्मातालाई चौतर्फी दबाब महसुस हुन्छ।

यद्यपि, उनी विगतका कमजोरीहरूलाई लिएर रुमल्लिनुको साटो अत्यन्त संवेदनशील भएर अगाडि बढ्ने सोचमा छन्। “कमजोरी सच्याएर फेरि अर्को प्रोजेक्ट गर्नुलाई म सकारात्मक नै मान्दछु,” उनको आत्मविश्वास छ।
नेपाली चलचित्र बजारमा अहिले ‘स्टार कास्ट’ बिना चलचित्र चल्दैन भन्ने भाष्य निर्माण भइरहेको छ। ‘कुमारी’ को नतिजाले के अब उनलाई पनि स्टारहरूको पछि लाग्न बाध्य पार्ला ? उनी यसलाई पूर्ण सत्य मान्न तयार छैनन्। “सधैँ एकै खालको फर्मुला प्रयोग गर्दा नतिजा एउटै आउँछ भन्ने हुँदैन,” उनी तर्क गर्छन्। उनी समयसँगै चलचित्र निर्माताहरूको सोचमा आएको परिवर्तनलाई नयाँ अनुहारहरूको आगमनसँग जोड्छन्। उनको स्पष्ट अडान छ, “चलचित्रमा कलाकारको छनौट स्टारडम हेरेर होइन, कथावस्तु र पात्रको माग अनुसार हुनुपर्छ। कथाले न्याय माग्दा स्थापित कलाकार पनि हुन सक्छन् वा नयाँ अनुहार पनि। यो मेरो रोजाइ होइन, कथाको माग हो।”
बजारले उनलाई ‘आँटिला निर्माता’ को उपमा दिएको छ। तर, उनी यसलाई ‘आँट’ भन्दा पनि आफ्नो पेसाप्रतिको इमानदारिता र जिम्मेवारी भन्न रुचाउँछन्। “चलचित्र निर्माण केवल लगानी मात्र नभएर यो रहर र जिम्मेवारी पनि हो,” उनी भन्छन्, “दर्शकलाई गुणस्तरीय सामग्री दिनु हाम्रो दायित्व हो। मेरो पहिलो चलचित्र ‘प्रकाश’ र अहिलेको ‘कुमारी’ यसका उदाहरण हुन्।”
के अब उनी बाटो मोडेर पुरानो फर्मुला प्रयोग हुने चलचित्र बनाउन लाग्लान् ? उनको जवाफ दार्शनिक छ, “मान्छेले जति सोच राख्छ र उसको चेतनाको स्तर जति छ, उसले त्यति मात्र गर्न सक्छ।” उनको कुरा सुन्दा लाग्छ उनी सिक्ने क्रममा छन्। अग्रज सिनेकर्मीहरूको अनुभव र आफ्नै भोगाइलाई मिसाएर आगामी दिनमा अझ परिपक्व योजनाका साथ आउने उनको तयारी छ।
‘कुमारी’ को व्यावसायिक असफलताले उनलाई गलाएको छैन, बरु अझ जिम्मेवार बनाएको छ। “कुमारी एउटा विशुद्ध प्रेमकथा मात्र थिएन, यो समाजले अझै पनि स्वीकार गर्न नसकेको महिलाको संवेदनशीलता बोकेको तितो सत्य थियो,” उनी निष्कर्ष निकाल्छन्।



