चुनावको सँघारमा बालेनको च्यानलबाट सार्वजनिक भयो चलचित्र ‘झरीपछिको इन्द्रेणी’



काठमाडौं – मुलुक यति बेला आसन्न प्रतिनिधिसभा निर्वाचनको सँघारमा उभिएको छ। यही चुनावी सरगर्मी र प्रजातन्त्र दिवसको सान्दर्भिकतालाई छोप्दै बिहीबार एउटा सामाजिक चेतनाको दस्ताबेज मानिएको चलचित्र डिजिटल पर्दामा सार्वजनिक भएको छ। भ्रष्टाचार, बेथिति र कुशासनविरुद्ध शंखघोष गर्ने चलचित्र ‘झरीपछिको इन्द्रेणी’ अब दर्शकले काठमाडौं महानगरका पूर्व मेयर तथा प्रतिनिधिसभा सदस्य उम्मेदवार बालेन शाहको आधिकारिक युट्युब च्यानल मार्फत हेर्न पाउने भएका छन्।

अर्जुन घिमिरे ‘पाँडे’को निर्देशनमा तयार भएको यस चलचित्रले केवल मनोरञ्जन मात्र दिँदैन, बरु वर्तमान समाजको ऐना पनि देखाउँछ। विशेष गरी नयाँ पुस्ता अर्थात् ‘जेनजी’ ले सुशासनका पक्षमा गरेको खबरदारी र आन्दोलनलाई चलचित्रले मुख्य कथावस्तु बनाएको छ। निर्वाचन आउन करिब दुई साता मात्र बाँकी रहँदा यसलाई युट्युबमा सार्वजनिक गर्नु संयोग मात्र नभई योजनाबद्ध कदम रहेको प्रतिक्रिया आएका छन्। निर्देशक पाँडेले यसलाई ‘चेतना जगाउने अभियान’का रूपमा व्याख्या गर्दै नागरिकलाई सुशासन र न्यायका पक्षमा उभिन प्रेरित गर्ने उद्देश्यले अहिले नै रिलिज गरिएको प्रस्ट्याएका छन्। मुलुकको पेचिलो समय र सन्दर्भलाई चलचित्रले सम्बोधन गर्ने निर्माण पक्षको विश्वास छ।

यसअघि गत पुस ४ गते सिनेमा हलहरूमा प्रदर्शन हुँदा पनि यो चलचित्रले दर्शक तथा समीक्षकबाट राम्रो प्रतिक्रिया बटुल्न सफल भएको थियो। गम्भीर विषयवस्तुमा आधारित यस चलचित्रमा गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी लगायतका कलाकारहरूको सशक्त अभिनय देख्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu