
काठमाडौं – नेपाली चलचित्र उद्योगका लागि यो वर्ष बक्स अफिसमा सुखद साबित भइरहेको छ। ब्लकबस्टर चलचित्रहरूको लहर चलिरहेको समयमा ‘आ बाट आमा’ ले घरेलु बजारमा जादुयी व्यापार गर्दै १० करोड ग्रस कलेक्सनको आँकडा पार गरेको छ। गत माघ १६ गतेबाट प्रदर्शन आरम्भ गरेको यस चलचित्रले हासिल गरेको यो सफलतासँगै, यस वर्ष १० करोडभन्दा बढी व्यापार गर्ने नेपाली चलचित्रको सङ्ख्या चार पुगेको छ। यसअघि ‘ऊनको स्वीटर’, ‘जेरी अन टप’ र ‘परान’ ले यो प्रतिष्ठित ‘१० करोड क्लब’ मा आफ्नो नाम दर्ता गराइसकेका थिए।
चलचित्र विकास बोर्ड अन्तर्गतको ‘बक्स अफिस’को तथ्याङ्क अनुसार बुधवार साँझसम्म चलचित्रको कुल कमाइले दोहोरो अङ्क छोएको हो। प्रदर्शनको तेस्रो सातामा चलिरहँदा पनि चलचित्रको व्यापारिक रफ्तार सुस्त भएको छैन; अहिले पनि दैनिक ३० लाखभन्दा माथिको ग्रस कलेक्सन भइरहेको छ। यो लोभलाग्दो व्यापारसँगै चलचित्र प्राविधिक रूपमा ‘सुपर हिट’ भइसकेको छ भने अब ‘ब्लकबस्टर’ को गन्तव्यतर्फ उन्मुख छ। बजार विश्लेषकहरूले आसन्न निर्वाचनअघि नै चलचित्रले १२ करोडको आँकडा पार गर्ने प्रक्षेपण गरेका छन्।
अहिले चलचित्र बजारमा एउटा कौतुहलता बढेको छ- के ‘आ बाट आमा’ यस वर्षको सर्वाधिक कमाउने चलचित्र बन्न सक्ला? यो उपाधि हासिल गर्नका लागि यसले ‘परान’ को १७ करोड ८४ लाख ४७ हजार रुपैयाँको विशाल कीर्तिमान तोड्नुपर्ने हुन्छ। यद्यपि, फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभाको निर्वाचनका कारण चलचित्रको सो र दर्शकको प्राथमिकतामा प्रभाव पर्न सक्ने हुँदा, ‘परान’ को कमाइलाई उछिन्न यो चलचित्रका लागि निकै चुनौतीपूर्ण र पेचिलो देखिन्छ।
आमा-छोराको भावनात्मक सम्बन्ध, वैदेशिक रोजगारीको यथार्थ र त्रिकोणात्मक प्रेमकथाको सम्मिश्रण रहेको यस चलचित्रले दर्शकको मन जितिरहेको छ। लामो समयपछि पर्दामा फर्किएकी बिपना थापा, भारतीय अभिनेता प्रदीप रावत (गजनी भिलेन), पल शाह, साइग्रेस पोखरेल, उषा उप्रेती, सिम्रन पन्त र रचना गौतमको अभिनयले चलचित्रलाई बलियो बनाएको छ। कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुङ्गाना निर्माता रहेको यस चलचित्रको बक्स अफिस यात्रा अझै केही समय लम्बिने निश्चित छ।



