पल र बेनिशाको रोमान्टिक डान्सले गुञ्जियो नीतिको संगीत साँझ



काठमाडौं – ग्ल्यामरस दुनियाँकी चर्चित अनुहार तथा पूर्वमिस इन्टरनेशनल नीति शाह यतिबेला आफ्नो जीवनको नयाँ अध्याय सुरु गर्ने तरखरमा छिन्।लामो समयदेखिको प्रेम सम्बन्धलाई पूर्णता दिँदै नीतिले भोलि अर्थात् शुक्रबार प्रेमी यास्नित राणासँग परम्परागत रूपमा लगनगाँठो कस्ने भएकी हुन्। यद्यपि, उनीहरूले गत वैशाखमै कानुनी रूपमा विवाह दर्ता गरिसकेका थिए, तर सामाजिक रीतिरिवाज अनुसारको वैवाहिक समारोह भने अहिले काठमाडौंका विभिन्न स्थानमा भव्यताका साथ चलिरहेको छ।

विवाहको पूर्वसन्ध्यामा आयोजना गरिएका समारोहहरूले यतिबेला सिनेवृत्त तताएको छ। बुधबार साँझ लाजिम्पाटस्थित त्रिसरा रेस्टुरेन्टमा आयोजित ‘संगीत सेरेमनी’ मा चलचित्र क्षेत्रका थुप्रै हस्तीहरूको बाक्लो उपस्थिति रह्यो। उक्त सांगीतिक साँझमा नजिकका आफन्त र साथीभाइको उपस्थितिका बीच कलाकारहरूले एकसेएक प्रस्तुति दिएर माहोल तताएका थिए। विशेषगरी अभिनेता पल शाह र अभिनेत्री बेनिशा हमालको जोडीले ‘मैसाबले’, ‘झुमझुम झुम्केका’ र ‘जनम् जनम् जिउला सँगै’ जस्ता रोमान्टिक गीतहरूमा गरेको नृत्य प्रस्तुतिले धेरैको ध्यान खिचेको थियो।

यसैगरी, अभिनेत्री आकृति राजभण्डारीले आफ्नो डेब्यु चलचित्र ‘कुमारी’ को लोकप्रिय गीत ‘डोको बुन्ने निगालो चोयाले’ मा कम्मर मर्काउँदा सन्ध्या केसी र ओसिन सिटौलाको जोडीले हिन्दी चलचित्र ‘देवदास’ को चर्चित गीत ‘डोला रे डोला रे’ मा आकर्षक नृत्य प्रस्तुत गरेका थिए। अश्मी श्रेष्ठ लगायतका अन्य सेलिब्रेटीहरूको उपस्थिति र प्रस्तुतिले कार्यक्रमलाई थप रङ्गीन बनाएको थियो। सोही मञ्चमा बेहुला-बेहुली अर्थात् नीति र यास्नित स्वयंले पनि आफ्नो प्रेमिल केमिस्ट्री देखाउन बाँकी राखेनन्। उनीहरूले ‘बार्दली’ र ‘तिमी त मेरो बेहुली’ जस्ता गीतमा एकल तथा जोडी नृत्य प्रस्तुत गर्दै उपस्थित पाहुनाहरूलाई मनोरञ्जन प्रदान गरेका थिए।

सांगीतिक माहोलपछि बिहीबार मेहेन्दी सेरेमनीको आयोजना गरिएको छ। यसअघि नै यो जोडीले पोखरा पुगेर साथीभाइका साथ ‘सिक्रेट ब्याचलर पार्टी’ र ‘प्रि–वेडिङ फोटोसुट’ सम्पन्न गरिसकेको छ। शुक्रबार हुने मुख्य वैवाहिक समारोहलाई विशेष बनाउन महानायक राजेश हमालदेखि चकलेटी नायक अनमोल केसीसम्मका सिनेकर्मीहरूलाई निम्तो पठाइएको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu