इलाममा ‘फ्रेन्ड्स सिनेमाज’ सञ्चालनमा, पल शाहद्वारा उद्घाटन



इलाम – पर्यटकीय सौन्दर्यले भरिपूर्ण पूर्वी पहाडी जिल्ला इलाममा मनोरञ्जनको नयाँ आयाम थपिएको छ। धरान र बुटवलमा दर्शकको मन जित्न सफल ‘फ्रेन्ड्स सिनेमाज’ ले आफ्नो व्यावसायिक यात्रा विस्तार गर्दै इलाममा तेस्रो शाखा सञ्चालनमा ल्याएको छ। शुक्रवार एक भव्य समारोहका बीच चर्चित अभिनेता पल शाहको उपस्थितिमा यस अत्याधुनिक सिनेमा हलको औपचारिक उद्घाटन गरिएको हो।

इलाम नगरपालिका–७ स्थित बहुतले पार्किङ भवनमा सञ्चालनमा आएको यो नयाँ गन्तव्यले इलामेली चलचित्र प्रेमीहरूमा नयाँ उत्साह सञ्चार गरेको छ। उद्घाटन समारोहमा अभिनेता शाहसँगै अभिनेत्री उषा उप्रेती र निर्देशक तथा निर्माता चन्द्र पन्तको विशेष उपस्थिति रहेको थियो। आफ्ना प्रिय कलाकारलाई घरेलु आँगनमा देख्न पाउँदा स्थानीय दर्शकहरूको उपस्थिति बाक्लो थियो भने उनीहरूको हुटिङले हल परिसर गुञ्जायमान बनेको थियो।

करिब ३ करोड ५० लाख रुपैयाँको लगानीमा निर्माण सम्पन्न भएको यो सिनेमा हल पूर्वाधार र प्रविधिका हिसाबले अब्बल मानिएको छ। १८८ सिट क्षमता रहेको यस हलमा विश्व स्तरीय ‘टुके प्रोजेक्सन’ र ‘डल्बी डिजिटल साउन्ड सिस्टम’ जडान गरिएको छ। फ्रेन्ड्स सिनेमाजका अध्यक्ष प्रदीप धामीका अनुसार, अब इलामका दर्शकले काठमाडौंका महँगा मल्टिप्लेक्सहरूमा पाइने उच्च गुणस्तरको दृश्य र ध्वनिको अनुभव आफ्नै सहरमा लिन पाउनेछन्।

विगतमा गुणस्तरीय सिनेमा हेर्नका लागि झापाको बिर्तामोड वा दमक झर्नुपर्ने इलामेलीहरूको बाध्यतालाई यो हलले अन्त्य गरिदिएको छ। सञ्चालकहरू प्रदीप धामी, पुष्कर घिमिरे र आशिष तामाङले दर्शकलाई पारिवारिक वातावरणमा पूर्ण मनोरञ्जन प्रदान गर्ने उद्देश्यले हल सञ्चालनमा ल्याएको बताएका छन्। अध्यक्ष धामीले मोफसलमा पनि राजधानी सरहको सेवा सुविधा विस्तार गर्नु आफूहरूको मुख्य प्राथमिकता रहेको स्पष्ट पारे।

नेपाली चलचित्रको बजार विस्तारमा यस्ता आधुनिक हलहरूको भूमिका महत्त्वपूर्ण हुने फ्रेन्ड्स सिनेमाका डाइरेक्टर आशिष तामाङको बुझाइ छ। उनले ठुला सहरमा मात्र केन्द्रित चलचित्र बजारलाई विकेन्द्रित गर्दै जिल्ला जिल्लामा सुविधायुक्त साना हलहरू खोल्न सके नेपाली चलचित्रको घरेलु बजार दोब्बरले बढ्ने विश्वास व्यक्त गरे। सोही योजना अनुरूप फ्रेन्ड्स सिनेमाजले भविष्यमा देशका अन्य स्थानहरूमा पनि चेन विस्तार गर्ने लक्ष्य राखेको छ।

आधुनिक प्रविधि, आरामदायी सिट र पारिवारिक वातावरणसहित सञ्चालनमा आएको यो हलले स्थानीय बासिन्दालाई मात्र नभई इलाम घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरूलाई समेत मनोरञ्जनको नयाँ विकल्प प्रदान गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu