१ करोड सब्स्क्राइबरसहित ओएसआर डिजिटलले जित्यो ‘डायमन्ड प्ले बटन’



काठमाडौं – नेपाली मनोरञ्जन जगतको डिजिटल यात्रामा एउटा सुनौलो अध्याय थपिएको छ। ओएसआर डिजिटलले भिडियो स्ट्रिमिङ प्लेटफर्म युट्युबमा १ करोड (१० मिलियन) सब्स्क्राइबरको कोसेढुङ्गा पार गर्दै ऐतिहासिक सफलता हात पारेको हो। यो उपलब्धिसँगै मुभी तथा म्युजिक इन्टरटेन्मेन्ट विधाअन्तर्गत नेपालमै पहिलो पटक प्रतिष्ठित ‘डायमन्ड प्ले बटन’ प्राप्त गर्ने कीर्तिमान पनि ओएसआरको नाममा दर्ता भएको छ।

भीसीडी र डीभीडीको जमानादेखि नै नेपाली दर्शकलाई मनोरञ्जन प्रदान गर्दै आएको ओएसआरले आफ्नो २५ वर्ष लामो व्यावसायिक यात्रालाई समयसापेक्ष रूपान्तरण गर्न सफल भएको छ। भौतिक बजारबाट सुरु भएको यो यात्रा अहिले डिजिटल दुनियाँको शिखरमा पुग्दा नेपाली चलचित्र, गीत–सङ्गीत र कलालाई विश्वव्यापी मञ्चमा उभ्याउने एक सशक्त माध्यम बनेको छ। कम्पनीले हासिल गरेको यो सफलतालाई केवल एक पुरस्कार वा अङ्कका रूपमा मात्र नभई नेपाली मनोरञ्जन उद्योगले अन्तर्राष्ट्रिय स्तरमा बनाएको दरिलो उपस्थितिका रूपमा विश्लेषण गरिएको छ।

यो ऐतिहासिक क्षणमा ओएसआर डिजिटलका प्रबन्ध निर्देशक ओम अग्रवालले सफलताको श्रेय दर्शक, सर्जक, कलाकार र आफ्नो टिमलाई दिएका छन्। “तपाईँहरूको हरेक भ्यु, लाइक र कमेन्ट नै हाम्रो प्रेरणाको स्रोत हो,” अग्रवालले भने, “दर्शकको यही साथले हामीलाई एउटा विशाल परिवारमा परिणत गरेको छ।” उनले आगामी दिनमा अझ परिष्कृत, स्तरीय र अन्तर्राष्ट्रिय बजार सुहाउँदो सामग्री पस्किने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।

हाल ओएसआर मुभिज र ओएसआर रियालिटी जस्ता सहायक च्यानलहरूमार्फत समेत सक्रिय रहेको यो संस्थाले चलचित्र, वेब सिरिज र साङ्गीतिक भिडियोहरू नियमित पस्कँदै आएको छ। अबको रणनीति भनेको घरेलु दर्शकलाई मात्र नभई अन्तर्राष्ट्रिय समुदायलाई समेत आकर्षित गर्ने खालका सामग्री निर्माण र वितरणमा केन्द्रित हुने कम्पनीले जनाएको छ। यस सफलताले समग्र नेपाली डिजिटल बजारको विस्तार र सम्भावनालाई नयाँ उचाइमा पुर्‍याएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu