
काठमाडौं – लामो समयको कौतूहल चिर्दै निर्देशक कृषा चौलागाईंको आगामी प्रोजेक्ट ‘पारस’ले आफ्नो मुख्य नायक पाएको छ। चलचित्रको शीर्ष भूमिका अर्थात् ‘पारस’को चरित्र निर्वाह गर्नका लागि युवा स्टार सुशील श्रेष्ठ औपचारिक रूपमा अनुबन्धित भएका छन्।
अन्य प्रमुख कलाकारहरूको टुङ्गो लागे पनि चलचित्रको केन्द्रीय पात्र को हुने भन्ने विषयमा निर्माण पक्षले सस्पेन्स राखेको थियो। अन्ततः आज निर्माण टिमले सुशीलको प्रवेशलाई आधिकारिक रूपमा पुष्टि गरेको छ। विशेष रोचक पक्ष के छ भने, यस चलचित्रमा सुशील नायकका रूपमा देखिँदा नेपाली चलचित्र क्षेत्रका ‘एक्सन किङ’ निखिल उप्रेती भने खलनायकको भूमिकामा प्रस्तुत हुँदैछन्। पर्दामा सुशील र निखिलबीचको यो टक्कर दर्शकका लागि नौलो र रोमाञ्चक अनुभव हुने अपेक्षा गरिएको छ।
चलचित्रमा ग्ल्यामर र अभिनयको पाटोलाई सशक्त बनाउन लोकप्रिय अभिनेत्रीहरू जसिता गुरुङ र प्रियङ्का कार्की यसअघि नै टिममा सामेल भइसकेका छन्। यद्यपि, कथाको माग अनुसार सुशीलको जोडीका रूपमा जसिता देखिनेछिन् वा प्रियङ्का, भन्ने कुरालाई भने निर्माण पक्षले हालसम्म गोप्य नै राखेको छ।
एक्सन र सामाजिक कथावस्तुको सम्मिश्रण रहने भनिएको ‘पारस’ ले नेपाली रजतपटमा एउटा फरक स्वाद पस्कने विश्वास लिइएको छ। कृषा चौलागाईंको निर्देशनमा तयार हुन लागेको यो चलचित्रको छायाङ्कन र प्रदर्शन मितिबारे थप जानकारी बिस्तारै बाहिर ल्याइने बुझिएको छ।



