
काठमाडौं – आगामी फागुन २९ गतेलाई प्रदर्शन मिति तय गरेको चलचित्र ‘लालिमा’ले प्रचारप्रसारलाई तीव्रता दिँदै आफ्नो दोस्रो आधिकारिक पोस्टर सार्वजनिक गरेको छ। फेथ आस्थाको ब्यानरमा निर्माण भएको यस चलचित्रले शुक्रवार शीर्ष अभिनेत्री रोशनी कार्कीलाई केन्द्रबिन्दुमा राख्दै नयाँ प्रचार सामग्री बजारमा ल्याएको हो। पहिलो पोस्टरबाटै दर्शकमा कौतूहल जगाउन सफल निर्माण पक्षले दोस्रो पोस्टरमार्फत कथाको गहिराइ र पात्रको मनोदशालाई अझ प्रस्ट पार्ने प्रयास गरेको छ।
सार्वजनिक पोस्टरमा अभिनेत्री रोशनीलाई निकै कलात्मक र प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ। झ्यालबाट छिरेको प्रकाशको किरणमा उनी अर्धनग्न तर आत्मविश्वासले भरिएको शान्त मुद्रामा देखिएकी छिन्। चलचित्रका लेखक तथा निर्देशक रोशन मिराजका अनुसार, यो पोस्टरले पात्रको पीडापछिको शान्ति र अन्तर शक्तिलाई प्रतिबिम्बित गर्छ। अघिल्लो पोस्टरले पात्रको असहायता र रहस्यलाई उजागर गरेको थियो भने, यो नयाँ लुक्सले सहनशीलता, आत्मविश्वास र जागरणको कथा बोल्ने निर्देशकको भनाइ छ। रातो रङमा लेखिएको शीर्षक र सिनेम्याटिक प्रकाश संयोजनले चलचित्र केवल त्रासदी मात्र नभई आत्मबलको गाथा भएको सन्देश दिन्छ।
करिब तीन हजार यौनकर्मीका वास्तविक भोगाइ, सङ्घर्ष र अनुभवलाई पर्दामा उतारेको दाबी गरिएको यस चलचित्रमा रोशनी कार्कीको जोडीका रूपमा जीवन भट्टराई देखिँदै छन्। उनीहरूसँगै उषा रजक, सुष्मा निरौला, घनश्याम जोशी, सबिन कट्टेल र शिशिर वाङ्देलजस्ता कलाकारहरूको मुख्य भूमिका रहेको छ। निर्माण पक्षले यसलाई केवल मनोरञ्जन मात्र नभई समाजको लुकेको पाटो उजागर गर्ने दस्ताबेजका रूपमा व्याख्या गरेको छ।
रीना लामा कार्यकारी निर्माता रहेको ‘लालिमा’ लाई नेसनल सिने ग्रुप नेपालले वितरणको जिम्मा लिएको छ।



