
काठमाडौं – अभिनेता पल शाहको जन्मदिनको अवसरमा चलचित्र ‘आ बाट आमा’ की नायिका उषा उप्रेतीले भावुक हुँदै शुभकामना सन्देश व्यक्त गरेकी छन्। सामाजिक सञ्जाल फेसबुकमा एक लामो स्ट्याटस लेख्दै उनले पललाई ‘मेरो प्रिय कृष्ण’ तथा ‘पल जी’ भनेर सम्बोधन गरेकी छन्।
उषाले पलसँगका केही नयाँ तथा पुराना तस्बिरहरू साझा गर्दै उनको सुखी र सफल भविष्यको कामना गरेकी छन्। आफ्नो शुभकामना सन्देशमा उषा लेख्छिन्, “यस विशेष दिनमा म भगवानसँग प्रार्थना गर्छु कि तपाईँलाई असीम खुसी, सफलता र आशीर्वादले भरिपूर्ण जीवन दिनुहोस्। तपाईँ साँच्चिकै जीवनका सबै सुन्दर कुराहरूका हकदार हुनुहुन्छ।”
उनले पलको भविष्य उज्यालो होस् र जीवनमा कहिल्यै पछाडि फर्केर हेर्न नपरोस् भन्ने शुभेच्छा प्रकट गर्दै अगाडि लेखेकी छन्, “अब आउने दिनहरू शान्ति, समृद्धि, प्रेम र आनन्दले भरिएका होउन्। तपाईँका सबै सपना पूरा होउन्।” उषाले पललाई उनी कति बलियो र योग्य छन् भन्ने कुरा नबिर्सन आग्रह गर्दै सधैँ उचाइमा पुगिरहन प्रेरित गरेकी छन्।

पल र उषाको अनस्क्रिन केमेस्ट्री देखिएको चलचित्र ‘आ बाट आमा’ यति बेला सिनेमा हलहरूमा सफलताका साथ प्रदर्शन भइरहेको छ। दर्शकहरूले यो जोडी र चलचित्रको कथावस्तुलाई निकै रुचाएका छन्।
बक्स अफिस रिपोर्ट अनुसार, यो चलचित्रले व्यावसायिक रूपमा पनि ठुलो फड्को मारेको छ। हालसम्म चलचित्रले घरेलु बजारमा मात्र ११ करोड भन्दा धेरैको ग्रस कलेक्सन गरिसकेको जानकारी प्राप्त भएको छ। चलचित्रको यो सफलताले अभिनेता पल शाहको जन्मदिनको खुसीलाई अझ दोब्बर बनाएको छ।



