‘आ बाट आमा’को सिक्वेल घोषणा: पल शाहको अभिनय रहने, आगामी दसैँमा दर्शकमाझ आउने



काठमाडौं – नेपाली चलचित्र बजारमा बक्स अफिसमा ब्लकबस्टर व्यापार गरेको चलचित्र ‘आ बाट आमा’को सफलतापछि निर्माण पक्षले यसको दोस्रो शृङ्खला निर्माण गर्ने औपचारिक घोषणा गरेको छ। निर्माता कम्पनी आर्या इन्टरटेन्मेन्टले आइतबार अभिनेता पल शाहको जन्मदिनको विशेष अवसर पारेर चलचित्र ‘आ बाट आमा २’ को फस्ट लुक पोस्टर सार्वजनिक गर्दै निर्माणको जानकारी दिएको हो।

सार्वजनिक गरिएको पोस्टरले दर्शकमाझ कौतूहल र चर्चा दुवै सिर्जना गरेको छ। पोस्टरमा ‘रियल सुपरस्टार’को उपमासहित अभिनेता शाहलाई केन्द्रमा राखिएको छ। लामो विग र मैलोधैलो शरीरमा प्रस्तुत पलको खुट्टाको गोली गाँठाबाट रगत बगिरहेको दृश्यले पात्रको गम्भीर अवस्थालाई चित्रण गर्छ। उनको बाह्य हुलियाले उनी मानसिक रूपमा विक्षिप्त वा सङ्घर्षपूर्ण अवस्थामा रहेको पात्रको भूमिका निर्वाह गर्दै छन् भन्ने अनुमान गर्न सकिन्छ। यद्यपि, पृष्ठभूमिमा राखिएको उनको हँसिलो तस्बिरले पात्रको वर्तमान पीडा र विगतको खुसी वा आन्तरिक द्वन्द्वलाई साङ्केतिक रूपमा प्रस्तुत गरेको देखिन्छ।

कथावस्तुको हिसाबले यो चलचित्र पनि आमा र सन्तानबिचको भावनात्मक सम्बन्धमै केन्द्रित रहने प्रस्ट छ। ‘आउँछु भन्ने एउटा झुटो आशामा आमा बर्सेनि जमरा छरिरहन्छिन्’ भन्ने मर्मस्पर्शी ट्याग लाइनसहित सार्वजनिक पोस्टरले चलचित्रको कथा दसैँको परिवेश र आमाको अनन्त पर्खाइमा आधारित हुने सङ्केत गरेको छ। निर्देशक चन्द्र पन्तको कमान्डमा बन्ने यस सिक्वेलमा पहिलो भागकै अधिकांश कलाकारहरूले निरन्तरता पाउने बुझिएको छ भने चलचित्रलाई २०८३ सालको विजयादशमीमा रिलिज गर्ने लक्ष्य राखिएको छ।

स्मरण रहोस्, गत माघ १६ गतेदेखि प्रदर्शनरत ‘आ बाट आमा’ले बक्स अफिसमा उत्कृष्ट प्रदर्शन जारी राखेको छ। हालसम्म ११ करोड माथिको ग्रस कलेक्सन गरिसकेको यो चलचित्रले चुनाव अगाडिसम्म १२ करोडको आँकडा पार गर्ने चलचित्र पण्डितहरूको विश्लेषण छ। पारिवारिक प्रेम, वैदेशिक रोजगारीको पीडा र त्रिकोणात्मक प्रेमकथाको सम्मिश्रणले दर्शकको मन जितेको यो ‘ब्रान्ड’को दोस्रो भागको घोषणाले सिनेवृत्तमा नयाँ उत्साह थपेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu