बिराज र सुपुष्पाको ‘अनस्क्रिन’ रोमान्स, ‘राम नाम सत्य’को पहिलो गीत ‘धागोले बाटेको’ सार्वजनिक



काठमाडौं – आगामी चैत २७ गतेलाई प्रदर्शन मिति लक गरेको चलचित्र ‘राम नाम सत्य’ले साङ्गीतिक कोसेलीमार्फत आफ्नो औपचारिक प्रचारप्रसार अभियानको थालनी गरेको छ। निर्देशक माइकल चन्दको नेतृत्वमा तयार भएको यस फिल्मले दर्शकको ध्यान खिच्न पहिलो प्रचार सामग्रीका रूपमा ‘धागोले बाटेको’ बोलको गीत बजारमा ल्याएको हो।

सार्वजनिक गीतमा पार्श्व गायनका चर्चित नामहरू बाबुल गिरी र रचना रिमालको सुमधुर स्वर सुन्न सकिन्छ भने गीतका शब्द डा. डीआर उपाध्यायले कोरेका हुन्। गीतमा सङ्गीत पनि बाबुल गिरीकै रहेको छ। भिडियोमा एक्सन स्टार बिराज भट्ट र अभिनेत्री सुपुष्पा भट्टको प्रेमिल जोडीलाई प्रस्तुत गरिएको छ, जहाँ उनीहरूको ‘केमेस्ट्री’ निकै रोमान्टिक र आकर्षक देखिएको छ। सियोन श्रेष्ठको कोरियोग्राफी रहेको यो गीतले फिल्मको लभ स्टोरी पक्षलाई उजागर गरेको छ।

‘पर्दा पछाडिको पर्दा’ भन्ने मुख्य थिम बोकेको यो चलचित्रलाई एक्सन, सस्पेन्स र प्रेमकथाको त्रिवेणी भनिएको छ। फिल्ममा बिराज र सुपुष्पाका अलावा सुशील श्रेष्ठ, दिव्या रायमाझी, आयुश सिंह ठकुरी, प्रशान्त ताम्राकार र सुनिल थापा जस्ता दिग्गज कलाकारहरूको अभिनय रहेको छ। माइकल इन्टरटेन्मेन्ट हाउसको ब्यानरमा निर्माण भएको यस फिल्ममा उपेन्द्र शाही र स्वेता बिमलीको लगानी रहेको छ भने किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार कार्यकारी निर्माताका रूपमा रहेका छन्।

फिल्मको निर्माण पक्ष प्राविधिक रूपमा पनि बलियो देखिएको छ। माइकल चन्दकै कथा र पटकथा रहेको फिल्ममा मानकृष्ण महर्जनको छायांकन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र बन्दे प्रसादको सम्पादन रहेको छ। अभिमन्यु निरवी र समय थपलिया स्क्रिप्ट सल्लाहकार रहेको फिल्मको टिजर र ट्रेलर साहिल खानले तयार पारेका हुन्। मोती कार्की क्रियटिभ प्रोड्युसर र राजेन्द्र आचार्य लाइन प्रोड्युसर रहेको यस फिल्मले चैतको अन्त्यमा दर्शकलाई हलसम्म तान्ने अपेक्षा निर्माण पक्षले लिएको छ।

गीतः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu