
काठमाडौं – कुनै पनि आधिकारिक सम्झौता पत्रमा हस्ताक्षर गर्दा वा औँठाछाप लगाउँदा कालो वा निलो मसीको प्रयोग हुनु विश्वव्यापी प्रचलन हो । तर, नेपाली चलचित्र क्षेत्रमा एउटा यस्तो विरलै घटना सार्वजनिक भएको छ, जहाँ एक नायकले चलचित्रको अनुबन्ध पत्रमा मसीले होइन, आफ्नै रगतले औँठाछाप लगाएर प्रतिबद्धता जाहेर गरेका छन् ।
यो नितान्त फरक दृश्य आगामी चलचित्र ‘महाराजाधिराज’ को अनुबन्ध प्रक्रियामा देखिएको हो । प्रायः प्रचारबाजी र सस्तो ‘फण्डा’ बाट टाढै रहने स्वभावका निर्देशक परिच्छेद सेनले नै यो कुराको पुष्टि गरेपछि यसलाई गम्भीरतापूर्वक हेरिएको छ । निर्देशक सेनले सामाजिक सञ्जालमार्फत एउटा तस्बिर साझा गर्दै लेखेका छन्, “जहाँ पसिना सकिन्छ, त्यहाँबाट रगतको कथा सुरु हुन्छ । एउटा सर्जकका लागि उसको कृति सन्तानजस्तै हुन्छ, जसलाई जन्माउन पसिना मात्र होइन, रगत बगाउनुपर्छ । अब म ढुक्क छु, एउटा सुन्दर इतिहास लेखिन्छ- महाराजधिराज ।”
निर्माण पक्षले ती नायकको परिचय भने गोप्य राखेको छ । सार्वजनिक गरिएको करार पत्रमा नायकको नाम र तस्बिर लुकाइएको छ। छत्रेश्वरी म्यानेजमेन्ट प्रा.लि.को ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रका निर्माता बिराज विष्ट हुन् भने कथा तथा निर्देशन स्वयम् परिच्छेद सेनको रहनेछ । निर्माण पक्षका अनुसार चलचित्रको छायाङ्कन आगामी चैत ७ गतेदेखि सुरु हुनेछ र २०८३ सालको बडादसैँमा प्रदर्शनमा आउनेछ ।

रोचक कुरा त के छ भने, ती रहस्यमय नायकले करार पत्रमा चलचित्रप्रतिको आफ्नो लगावलाई शब्दमा समेत निकै ओजपूर्ण तरिकाले व्यक्त गरेका छन् । उनले लेखेका छन्, “यस चलचित्र ‘महाराजाधिराज’ मा मुख्य भूमिका निर्वाह गर्न पाउनु मेरा लागि गौरवको विषय हो । यो चलचित्र मेरो कला यात्राको एक महत्त्वपूर्ण खुड्किलो हुनेमा म पूर्ण विश्वस्त छु ।” उनले चरित्रलाई न्याय गर्नका लागि आफू शारीरिक, मानसिक र भावनात्मक रूपमा पूर्ण समर्पित रहने कसम खाँदै यो प्रोजेक्ट आफ्नो लागि सर्वोच्च प्राथमिकतामा रहने उल्लेख गरेका छन् ।
ती नायकले चलचित्रको छायाङ्कन नसकिएसम्म र निर्माण पक्षको अनुमति बिना कुनै पनि म्युजिक भिडियो, टिकटक, इन्स्टाग्राम वा युट्युब भिडियो जस्ता दृश्य सामग्रीमा काम नगर्ने लिखित प्रतिबद्धता जनाएका छन् । यसरी ‘म्युजिक भिडियो’ समेत नखेल्ने सर्त स्वीकार गर्ने नायक को हुन सक्छन् ? भन्ने प्रश्नले हाल बजारमा सक्रिय पल शाह, नाजिर हुसेन, पुष्प खड्का र आकाश श्रेष्ठ जस्ता नामहरूतर्फ शङ्काको सुई घुमाएको छ ।
स्मरण रहोस्, ‘महाराजाधिराज’ को अघिल्लो पोस्टरमा पल शाहको नाम जोडिए पनि केही महिनाअघि आपसी सहमतिमै उनी बाहिरिएको खबर आएको थियो ।



