चलचित्र ‘लालिमा’: दोस्रो टिजरमा देखियो रोशनीको संघर्ष र संवेदना



काठमाडौं – आगामी फागुन २९ गतेलाई प्रदर्शन मिति तय गरेको सामाजिक कथानक चलचित्र ‘लालिमा’ले आफ्नो प्रचारप्रसारलाई तीव्रता दिँदै आइतबार दोस्रो टिजर सार्वजनिक गरेको छ। समाजको अँध्यारो पाटोको रूपमा रहेका करिब तीन हजार यौनकर्मीहरूको वास्तविक भोगाइ, पीडा र तीतो अनुभवमा आधारित भई निर्माण गरिएको यस चलचित्रको नयाँ झलकले दर्शकमाझ कौतुहल सिर्जना गरेको छ।

सार्वजनिक करिब एक मिनेट लामो टिजरमा चलचित्रकी शीर्ष अभिनेत्री रोशनी कार्कीलाई केन्द्रबिन्दुमा राखिएको छ। टिजरको कथावाचनले रोशनीको चरित्रमार्फत यौनकर्मी महिलाले भोग्नुपरेको चरम मानसिक तथा सामाजिक द्वन्द्वलाई पर्दामा उतार्ने प्रयास गरेको देखिन्छ। भिडियोमा रोशनीका साथै अभिनेत्रीद्वय सुष्मा निरौला र उषा रजक तथा अभिनेता जीवन भट्टराईको उपस्थितिलाई पनि महत्त्वपूर्ण स्थान दिइएको छ। विशेषगरी, संकट र समस्याको भुमरीमा फसेकी रोशनीलाई सुष्मा र उषाले दिएको आडभरोसा र साथलाई टिजरमा मार्मिक ढंगले प्रस्तुत गरिएको छ। यसका साथै, वरिष्ठ कलाकार शिशिर वाङ्देल र सबिन कट्टेलको झलक पनि यसमा समेटिएको छ।

टिजरको सबैभन्दा बलियो र भावनात्मक पक्ष भनेको यौनकर्मीको भूमिकामा रहेकी रोशनीको काखमा देखिएको दुधे शिशु हो। सुरुवाती दृश्यहरूमा परम्परागत यौनकर्मीको आवरणमा देखिएकी रोशनी, टिजरको अन्त्यतिर पुग्दा सोही शिशुलाई छातीमा टाँसेर सहरको कोलाहलबाट टाढा निस्किएको दृश्यले कथाको गहिराइलाई संकेत गर्छ। यी सांकेतिक दृश्यहरूले तीन हजार यौनकर्मीको जीवनका आरोह-अवरोह र जटिलतालाई फिल्मले सूक्ष्म रूपमा केलाएको प्रष्ट पार्छन्।

रोशन मिराजको लेखन तथा निर्देशनमा तयार भएको ‘लालिमा’ फेथ आस्थाको ब्यानरमा निर्माण भएको हो। चलचित्रकी कार्यकारी निर्माता रीना लामा हुन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu