
काठमाडौं – वैदेशिक रोजगारी र सुखद भविष्यको खोजीमा थातथलो छोडेर परदेश पुगेका नेपालीको कथा समेटिएको चलचित्र ‘प्रवासी जीवन’को एउटा मर्मस्पर्शी गीत सार्वजनिक भएको छ । गायक प्रमोद खरेलको आवाजमा रहेको ‘ढल्दा लागेको घाउ’ बोलको गीतले प्रवासको यथार्थलाई सङ्गीतमार्फत उजागर गरेको छ । सौरभ तिम्सिनाको शब्द रचना रहेको यस गीतलाई नवीन कार्कीले सङ्गीतबद्ध गरेका हुन् ।
अमेरिका पुगेका नेपालीहरूले भोग्नुपर्ने कडा सङ्घर्ष, मानसिक द्वन्द्व र भावनात्मक उथलपुथललाई यो फिल्मले आफ्नो मुख्य विषयवस्तु बनाएको छ । आगामी फागुन १५ गतेबाट देशभरका सिनेमा हलमा प्रदर्शन हुने तयारीमा रहेको यस फिल्मलाई श्याम क्षेत्री र राम अधिकारीले संयुक्त रूपमा निर्देशन गरेका हुन् । फिल्ममा राजेश हमाल, सरिता लामिछाने, बुद्धि तामाङ, महादेव त्रिपाठी, एञ्जेला बस्नेत लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।
निर्देशक श्याम क्षेत्रीका अनुसार यो फिल्म केवल भौतिक दुःखको फेहरिस्त मात्र नभएर प्रवासीहरूले भोग्ने मानसिक स्वास्थ्यका गम्भीर पाटाहरूमा केन्द्रित रहेको छ । चलचित्रलाई श्याम क्षेत्री प्रोडक्सन र नेशनल मिडिया प्रोडक्सनले संयुक्त रूपमा निर्माण गरेका हुन् । ‘डाईङ क्यान्डल’ जस्ता स्तरीय फिल्म निर्माण गरिसकेका रविन आचार्य यसका निर्माता हुन् ।
गीत:



