
काठमाडौं – चलचित्र ‘घरज्वाइँ’का निर्देशक अनिल बुढा मगरको दोस्रो निर्देशकीय प्रोजेक्ट ‘मितज्यू’ को सम्पूर्ण छायाङ्कन कार्य मात्र एक महिनाको अवधिमा सम्पन्न भएको छ। सामाजिक कथावस्तुलाई पर्दामा उतार्न लागिएको यस चलचित्रको छायाङ्कन प्याक अप भएसँगै निर्माण पक्षले आगामी जेठ १५ गतेलाई प्रदर्शन मिति तय गरेको छ।
दाङ र रोल्पाका विभिन्न स्थानमा दृश्यहरू कैद गरिएको चलचित्रको काम तोकिएकै समयमा सहज रूपले सकिएको निर्माता जनक घर्ती मगरले जानकारी दिएका छन्। नेपाली रजतपटका दुई चर्चित र प्रभावशाली अभिनेताहरू दयाहाङ राई र सौगात मल्लको मुख्य भूमिका रहेको यस चलचित्र मार्फत डान्सर तेरिया फौजा मगरले अभिनेत्रीको रूपमा डेब्यु गर्दैछिन्। उनीहरूका अलावा चलचित्रमा पुष्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तम राज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई र खड्गबहादुर पुन मगर (खबपु) लगायतका कलाकारहरूको अभिनय रहनेछ।
शिशिर बिशंखेको छायाङ्कन रहेको यस चलचित्रलाई लोकेश बज्राचार्यले सम्पादन गर्नेछन्। चलचित्रमा श्रीकृष्ण बम मल्लको सङ्गीत सुन्न सकिनेछ भने गीतहरूमा स्वयम् सङ्गीतकार मल्लका साथै चर्चित गायिकाहरू मेलिना राई र लक्ष्मी मल्लले स्वर दिएका छन्।



