विशाल भण्डारीको कमब्याक चलचित्रमा ओएसआर डिजिटलको सहकार्य, हरर कमेडी ल्याउँदै



काठमाडौं – चर्चित टेलिभिजन रियालिटी शो ‘कमेडी नाइट विथ च्याम्पियन्स’ को निर्माण टोलीले बनाउन लागेको नयाँ कथानक चलचित्रमा ओएसआर डिजिटलले डिजिटल साझेदारका रूपमा सहकार्य गर्ने भएको छ। निर्माण कम्पनी श्री थ्री प्रोडक्सन र ओएसआर डिजिटलका प्रतिनिधिबीच हालै यस विषयमा औपचारिक लिखित सम्झौता सम्पन्न भएको हो। यससँगै उक्त अनटाइटल्ड (नाम तय नभएको) चलचित्रको डिजिटल अधिकार ओएसआरले सुरक्षित गरेको छ।

विशाल भण्डारीको निर्देशन रहने यस चलचित्रलाई हरर कमेडी विधामा निर्माण गर्न लागिएको छ। चलचित्रको शीर्षक जुराउन बाँकी रहे पनि यसमा मुख्यतया ‘कमेडी नाइट विथ च्याम्पियन्स’ कै परिचित अनुहारहरूलाई पर्दामा देख्न पाइने बुझिएको छ। यद्यपि, कथाको आवश्यकता र पात्रको मागअनुसार बाहिरबाट पनि थप कलाकार छनोट गर्न सकिने निर्देशक भण्डारीले जानकारी दिएका छन्। करिब सात वर्षअघि प्रदर्शनमा आएको ‘कोहलपुर एक्सप्रेस’ मार्फत निर्देशनमा डेब्यु गरेका भण्डारीका लागि यो प्रोजेक्ट निर्देशकीय यात्राको महत्त्वपूर्ण पुनरागमन हुनेछ।

हाल निर्देशक भण्डारी आफ्ना केही सहयोगीहरूको साथमा चलचित्रको पटकथा लेखनमा तीव्र रूपले काम गरिरहेका छन्। आगामी दसैँको छेको पारेर छायाङ्कनमा जाने तयारीमा रहेको यस चलचित्रको प्रदर्शन मिति भने सुटिङ पूर्ण रूपमा सकिएपछि मात्र सार्वजनिक गरिनेछ। निर्माण पक्षले कुनै पनि दबाबबिना सुटिङमा जान लागेको र छायाङ्कन अघि नै रिलिज मिति घोषणा नगर्ने रणनीति अपनाएको निर्देशक भण्डारीले स्पष्ट पारेका छन्।

यस चलचित्रको छायाङ्कनमा जानुअघि निर्माण टोली अन्य दुई ठुला टेलिभिजन तथा लाइभ परियोजनामा व्यस्त रहनेछ। श्री थ्री प्रोडक्सनले निकट भविष्यमै ‘कमेडी च्याम्पियन’ को चौथो सिजन दर्शकमाझ ल्याउने तयारी गरिरहेको छ। यसका साथै ‘कमेडी नाइट विथ च्याम्पियन्स लाइभ फ्रम अस्ट्रेलिया’ नामक कार्यक्रम पनि आयोजना गर्ने तालिका रहेको छ। यी दुई प्रमुख प्रोजेक्टहरू सम्पन्न भएपछि मात्र सम्पूर्ण टोली चलचित्र निर्माणमा पूर्ण रूपमा केन्द्रित हुनेछ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu