धनकुटाबाट सुरु भयो ‘कार्की साइँला’को छायाङ्कन



काठमाडौं – राजेन्द्र बस्नेतको निर्देशनमा तयार हुन लागेको नयाँ नेपाली चलचित्र ‘कार्की साइँला’को छायाङ्कन सुरु भएको छ। निर्माण टोलीले मङ्गलवारदेखि पूर्वी नेपालको सुन्दर सहर धनकुटाबाट क्यामेरा रोल गर्दै फिल्मको सुटिङ थालेको हो। निर्देशक बस्नेतका अनुसार करिब एक महिनाको कार्य तालिका बनाएर सुरु गरिएको यस चलचित्रका दृश्यहरू धनकुटाका साथै सुनसरीको बराह क्षेत्र र चतरा आसपासका रमणीय स्थानहरूमा कैद गरिनेछन्।

छायाङ्कन सेटमा यति बेला चलचित्रका मुख्य कलाकारहरू जुटिसकेका छन्। यस चलचित्रमा चर्चित अभिनेता जितु नेपाल र लोकप्रिय टेलिश्रृंखला ‘सक्किगोनी’ मार्फत ‘मुन्नी’ उपनामले दर्शकको मन जितेकी अभिनेत्री प्रियना आचार्य मुख्य भूमिकामा प्रस्तुत हुँदैछन्। दर्शकले यस फिल्ममार्फत जितु र प्रियनाको नयाँ अनस्क्रिन जोडीलाई पहिलो पटक ठुलो पर्दामा देख्न पाउनेछन्। यसअघि चलचित्र ‘झरीपछिको इन्द्रेणी’मा आफ्नो अभिनय कौशल प्रस्तुत गरिसकेकी प्रियनाको जितुसँगको यो पहिलो सहकार्यलाई निकै चासोका साथ हेरिएको छ। यी दुईका अलावा सुटिङ सेटमा सुशील पोखरेल, वीरेन्द्र सिंह कुशवहा, मान्शी शर्मा, मनिल तामाङ, रेणुका आचार्य, दिप्सन लिम्बु, रोदा राई र कमल देवकोटा लगायतका कलाकारहरूको उपस्थिति रहेको छ।

कर्णबहादुर फिल्मस् प्रालिको ब्यानरमा निर्माण भइरहेको यस चलचित्रलाई बालकुमार राईले निर्माण गर्दैछन्। कृष्ण भगत चाम्लिङको प्रस्तुति रहेको ‘कार्की साइँला’मा रोजल थापा मुख्य सहायक निर्देशकका रूपमा जोडिएका छन् भने डम्बर राईले छायाङ्कनको जिम्मेवारी सम्हालेका छन्। त्यसै गरी, चलचित्रमा किरण दाहालको द्वन्द्व निर्देशन, दिप्सन लिम्बुको सङ्गीत र सिबी भण्डारीको प्रोडक्सन व्यवस्थापन रहनेछ। निर्माण पक्षले सम्पूर्ण छायाङ्कनको काम सम्पन्न भएपछि मात्रै चलचित्रको औपचारिक प्रदर्शन मिति सार्वजनिक गर्ने रणनीति तय गरेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu