
काठमाडौं – आगामी फागुन २९ गतेदेखि प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र ‘लालिमा’मार्फत अभिनेत्री रोशनी कार्की एउटा नितान्त फरक र चुनौतीपूर्ण भूमिकामा दर्शकमाझ आउँदै छिन्। रङ्गमञ्चको पृष्ठभूमिबाट आएकी रोशनीले यस चलचित्रमा शीर्ष चरित्र ‘लालिमा’को भूमिका निर्वाह गरेकी छन्, जुन एक यौनकर्मी महिलाको कथा हो। आफ्नो अभिनय यात्रामा पहिलो पटक यस्तो संवेदनशील र जटिल चरित्रमा प्रस्तुत हुन लागेकी उनले उक्त पात्रलाई जीवन्त बनाउन निकै मिहिनेत गरेकी छन्।
यौन पेसा समाजमा गोप्य राखिने भएकाले यस क्षेत्रमा संलग्न व्यक्तिहरूसँग सामान्य अवस्थामा भेटघाट वा चिनजान हुनु असम्भव प्रायः हुन्छ। रोशनीको व्यक्तिगत पहुँचमा पनि कोही यौनकर्मी थिएनन्। तर, पर्दामा उतार्नुपर्ने चरित्रको मानसिक र भावनात्मक अवस्थालाई सूक्ष्म रूपमा बुझ्न उनलाई वास्तविक यौनकर्मीहरूसँगको भेटघाट अपरिहार्य थियो। नेपाली समाजमा यौनकर्मीहरूको यथार्थ अवस्था र उनीहरूको मनोविज्ञान कस्तो छ भन्ने कुराको गहिरो अध्ययनविना अभिनयमा न्याय गर्न नसकिने उनको बुझाइ थियो।
यसै सन्दर्भमा, चलचित्र निर्माण टोलीको सहयोगमा उनले १० जना वास्तविक यौनकर्मीहरूसँग भेटेर कुराकानी गर्ने अवसर पाइन्। यस प्रत्यक्ष अन्तर्क्रियाले उनलाई ‘लालिमा’ पात्र निर्माणमा ठुलो मद्दत पुर्यायो। कुराकानीका क्रममा उनले यौनकर्मीहरूका लुकेका पीडा, मनोदशा र बाध्यताहरू नजिकबाट सुन्ने र महसुस गर्ने मौका पाइन्। भेटिएका महिलाहरूमध्ये कलेज पढ्ने कलिला किशोरीदेखि लिएर अधबैँसे उमेरसम्मका रहेका थिए। ती सबै जना रहरले नभई चरम आर्थिक सङ्कट टार्ने बाध्यताले यस पेसामा होमिएको यथार्थ रोशनीले नजिकबाट बुझिन्।
समाजको एउटा ठुलो तर मौन तप्काको प्रतिनिधित्व गर्न पाएकोमा अभिनेत्री रोशनी सन्तुष्ट देखिन्छिन्। ती महिलाहरूको भोगाइलाई बुझेपछि एउटा कलाकारको हैसियतले उनीहरूको दबिएको आवाज बन्ने प्रयास गरेको उनले बताएकी छन्। समाजले नदेखेको उनीहरूको मानसिकता र बाध्यतालाई पर्दामा जस्ताको तस्तै उतार्ने आफ्नो इमानदार कोसिस रहेको उनको भनाइ छ।



