
काठमाडौं – नेपाली चलचित्र उद्योगको लामो र गौरवपूर्ण इतिहास, यसको कला तथा प्रविधिको विकास क्रमलाई भावी पुस्तासम्म सुरक्षित राख्ने महान् उद्देश्यका साथ ‘नेपाली चलचित्र सङ्ग्रहालय’को औपचारिक शुभारम्भ भएको छ। चलचित्र विकास बोर्डको प्रेक्षालयमा मङ्गलवार आयोजित एक विशेष समारोहबीच सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेतले उक्त सङ्ग्रहालयको उद्घाटन गरेकी हुन्।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले सङ्ग्रहालय स्थापनालाई आफ्नो दीर्घकालीन सपना र नेपाली चलचित्रको ‘आत्मा’ जोगाउने महत्त्वपूर्ण अभियानको रूपमा अर्थ्याएका छन्। नेपाली चलचित्रको इतिहासलाई केवल स्मृतिमा मात्र सीमित नराखी संस्थागत रूपमै संरक्षण र पुस्तान्तरण गर्न यो कदम चालिएको उनको भनाइ छ। अध्यक्ष डिसीले विगतका सङ्घर्ष, प्रविधिको विकास क्रम र सिर्जनात्मक यात्रालाई एउटै छानामुनि अभिलेखीकरण गर्नु आजको आवश्यकता रहेको औँल्याउँदै आगामी दिनमा यसलाई डिजिटल रूपान्तरण गरी अनुसन्धानकर्ता, विद्यार्थी र चलचित्र प्रेमीहरूको प्रमुख अध्ययन केन्द्रका रूपमा विकास गरिने प्रतिबद्धता जनाए। उनले यस सङ्ग्रहालयलाई राष्ट्रिय गौरवको परियोजनाका रूपमा विस्तार गर्ने लक्ष्यसमेत सुनाए।

उक्त सङ्ग्रहालयलाई समृद्ध बनाउन चलचित्र क्षेत्रका विभिन्न व्यक्ति तथा संस्थाहरूले आ-आफ्नो तर्फबाट ऐतिहासिक सामग्रीहरू हस्तान्तरण गरेका छन्। प्रविधि तथा उपकरणतर्फ सिने फोकस प्रा.लि.का रजत बुढाथोकीले रेड क्यामेरा, क्लासिक सिने युनिभर्सका दिनेश महराले सोनी इएक्स-३ क्यामेरा तथा वरिष्ठ चलचित्रकर्मी मन्दिल श्रेष्ठ र गौरीशंकर धुँजुले पुरानो ऐतिहासिक क्यामेरा र ट्राइपोड उपलब्ध गराएका छन्। त्यसैगरी, वरिष्ठ सम्पादक मानबहादुर थापाले सन् १९८० को पानासोनिक एफ-१० क्यामेरासहित सोनी कलर मोनिटर, क्यासेट टेप र अडियो मिक्सर जस्ता महत्त्वपूर्ण उपकरणहरू सङ्ग्रहालयलाई सुम्पिएका छन्।
अभिलेख, पोस्टर तथा स्क्रिप्टतर्फ पनि विभिन्न व्यक्ति र संस्थाबाट उल्लेख्य योगदान प्राप्त भएको छ। चलचित्र प्रेमी दर्शक खुमराज पौडेलले प्रतिनिधिमार्फत सात सय चार वटा नेपाली चलचित्रका पोस्टर हस्तान्तरण गर्दा म्युजिक नेपालका प्रबन्ध निर्देशक उत्तम थापाले एक सय ५२ वटा, आइडियल डिजाइनर्सका सुन्दरलाल श्रेष्ठले एक सय ४६ वटा र पेज थ्री पत्रिकाका सम्पादक दर्शनवीर शाक्यले नेपाल भाषाका ८० वटा चलचित्रका पोस्टर उपलब्ध गराएका छन्। यस्तै, हाइलाइट्स नेपालका जनक तामाङले दुई सय दुई वटा र ओएसआरका रुपेन्द्र खड्गीले विभिन्न चलचित्रका आर्टवर्कहरू प्रदान गरेका छन्। श्रव्य सामग्रीतर्फ कान्तिपुर रेडियोले तीन सय ४४ वटा चलचित्रका क्यासेट तथा अडियो सिडी हस्तान्तरण गरेको छ। यसका अलावा वरिष्ठ छायाकार पुरुषोत्तम प्रधानले आफू आबद्ध ६३ वटा चलचित्रका स्क्रिप्ट र लेखक तथा चलचित्रकर्मी नरेन्द्रबहादुर श्रेष्ठले प्रथम चलचित्र अवार्डका सङ्ग्रहयोग्य कागजातहरू सङ्ग्रहालयलाई उपलब्ध गराएका छन्। ऐतिहासिक सामग्रीहरू उपलब्ध गराउने सम्पूर्ण व्यक्ति तथा संस्थाहरूलाई समारोहमा विशेष सम्मान गरिएको थियो।



