
काठमाडौं – अभिनेता अनमोल केसीको साङ्गीतिक तथा साहसिक प्रेमकथामा आधारित सुपर हिट चलचित्र ‘जेरी अन टप’ले अब भारतीय दर्शकमाझ आफ्नो जादु छर्ने भएको छ। नेपाल लगायत विभिन्न देशमा प्रदर्शन भई विश्वव्यापी रूपमा १७ करोडभन्दा बढीको सानदार व्यापार गर्दै अनमोलको करियरकै सर्वाधिक सफल बनेको यस फिल्मलाई यही शुक्रवार अर्थात् फेब्रुअरी २७ देखि भारतका विभिन्न सहरहरूमा एकसाथ प्रदर्शन गर्न लागिएको हो।
भारतमा रहेका नेपाली भाषी समुदाय तथा सम्पूर्ण सिनेमा प्रेमीहरूलाई लक्षित गर्दै निर्माण पक्षले व्यापक रूपमा बक्स अफिस रिलिजको तयारी गरेको छ। एसली प्रोडक्सनको व्यवस्थापनमा दार्जिलिङ, सिक्किम, कालिङपोङ, सिलिगुरी, कोलकाता, देहरादुन र राजधानी दिल्ली लगायत नेपाली भाषीको बाक्लो उपस्थिति रहेका क्षेत्रहरूमा फिल्म लाग्नेछ। दर्शकको उत्साहलाई मध्यनजर गर्दै भारतका प्रमुख सिनेमा चेनहरूले फिल्मको अग्रिम टिकट बुकिङ समेत खुला गरिसकेका छन्।
फिल्म प्रदर्शनको पूर्व सन्ध्यामा फेब्रुअरी २६ (बिहीबार) सिक्किमको गान्तोकमा एक विशेष प्रिमियर शोको आयोजना गरिँदै छ। निर्माता सरोज न्यौपानेका अनुसार प्रिमियरमा सहभागी हुन अभिनेता अनमोल केसी, दिग्गज अभिनेता भुवन केसी र अभिनेत्री जसिता गुरुङसहितको टोली यतिबेला सिक्किम पुगिसकेको छ। उक्त भव्य समारोहमा चर्चित गायक तथा सङ्गीतकार कालीप्रसाद बाँस्कोटाको विशेष साङ्गीतिक प्रस्तुतिसमेत रहने जनाइएको छ।
सुयोग गुरुङको निर्देशनमा तयार भएको यस चलचित्रले सगरमाथा आरोहणको साहसिक कथावस्तुका साथै युवापुस्ताको प्रेम, सम्बन्ध र भावनात्मक उतारचढावलाई कलात्मक रूपमा पर्दामा प्रस्तुत गरेको छ। गत असोजको अन्तिम साता रिलिज भएको यस फिल्ममा अनमोलका साथै आँचल शर्मा, जसिता गुरुङ, केदार घिमिरे, भुवन केसी र उषा खड्गी जस्ता चर्चित अनुहारहरूको सशक्त अभिनय रहेको छ। ‘जेरी अन टप’को यो बृहत् भारतीय प्रदर्शनले नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार विस्तार र प्रवर्द्धनमा एउटा महत्त्वपूर्ण इँटा थप्ने विश्वास निर्माण टोलीले लिएको छ।



