नयाँ स्वरूपमा ‘परालको आगो’ : रहस्य र गम्भीर भावसहित पोस्टर सार्वजनिक



काठमाडौं – आगामी वैशाख ११ गतेबाट दर्शकमाझ आउने तयारीमा रहेको नेपाली चलचित्र ‘परालको आगो’को फस्ट लुक सार्वजनिक भएको छ। बिहीबार निर्माण पक्षले सार्वजनिक गरेको पोस्टरमा चलचित्रका मुख्य तीन कलाकारहरू सुहाना थापा, सौगात मल्ल र प्रकाश सपुतलाई निकै गम्भीर र भावुक मुद्रामा प्रस्तुत गरिएको छ।
पोस्टरमा सुहानाको सिउँदोमा सिन्दुर र निधारमा टीका सजिएको भए तापनि उनको अनुहारमा खुसीको सट्टा गहिरो उदासी पोखिएको देखिन्छ। त्यसैगरी, घुम ओढेका प्रकाश सपुत र सौगात मल्ल दुवैको अनुहारमा आँसु र रुन्चे भाव झल्किएको छ। कलाकारहरूको यस रहस्यमय र गम्भीर अवतारले चलचित्रको कथावस्तु गहन सामाजिक द्वन्द्व र मानसिक अन्तर्द्वन्द्वमा आधारित रहेको बलियो संकेत गरेको छ।
लक्ष्मण सुनारको निर्देशनमा तयार भएको यस चलचित्रले मूलतः ग्रामीण परिवेश, पारिवारिक सम्बन्धको आरोह–अवरोह तथा समाजभित्र दबिएका मनोवैज्ञानिक र भावनात्मक संघर्षलाई पर्दामा उतार्ने अपेक्षा गरिएको छ। पोस्टरको पृष्ठभूमिमा देखिएको अँध्यारो र आगोको झिल्कोले सानो तिनो मनमुटावले कसरी भयानक रूप लिन सक्छ भन्ने कथाको प्रतीकात्मक अर्थ अर्थात् ‘परालको आगो’को वास्तविक मर्मलाई प्रतिबिम्बित गर्दछ।


हरि ॐ सिने मेकर्स प्रा.लिको ब्यानरमा सुशील पोखरेलले निर्माण गरेको यस चलचित्रमा सुहाना, सौगात र प्रकाशका साथै सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँलगायतको प्रभावशाली अभिनय रहेको छ। चलचित्रको पटकथा सुशील देवकोटाले लेखेका हुन् भने निर्माताका रूपमा सुलभी पोखरेल र सत्यम पोखरेल जोडिएका छन्। प्राविधिक पक्षतर्फ संकल्प भुजेलको छायांकन, मिलन श्रेष्ठको सम्पादन, रामजी लामिछानेको नृत्य निर्देशन र कुनाल कुँवरको रङ संयोजन रहेको छ। त्यसैगरी, साहिल खानले टिजर र ट्रेलरको सम्पादन, समीर मियाँ र सत्यम रानाले भीएफएक्स तथा मुकेश शाहले ५.१ मिक्सिङको जिम्मेवारी सम्हालेका छन्। चलचित्रमा करण बहादुर साउद मुख्य सहायक निर्देशकका रूपमा रहेका छन्।
चलचित्रको सांगीतिक पक्ष पनि निकै मजबुत र विविधतापूर्ण देखिन्छ। शान्ति ठटाल, सत्य–स्वरूप र प्रकाश सपुतको संगीत रहेको यस फिल्मका गीतहरू मनबहादुर मुखिया, सुरेन्द्र राना र प्रकाश सपुत स्वयंले कोरेका हुन्। किरण तुलाधरको ब्याकराउन्ड स्कोर रहेको छ।
स्मरण रहोस्, नेपाली साहित्यका प्रख्यात कथाकार गुरुप्रसाद मैनालीको लोकप्रिय कथासंग्रह ‘नासो’मा सङ्ग्रहित ‘परालको आगो’ कथामा आधारित रहेर आजभन्दा करिब ४५ वर्षअघि प्रताप सुब्बाको निर्देशनमा समेत सोही नामको चलचित्र निर्माण भएको थियो। पुरानै कथाको जगमा नयाँ पुस्ताका कलाकार र प्रविधिको सम्मिश्रणसहित आउन लागेको यो चलचित्रलाई दर्शकले निकै चासोका साथ हेरेका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu