अभिनेत्री नम्रता सापकोटाले सुटुक्क लगनगाँठो कसिन्



काठमाडौं – आफ्नो निजी जीवनलाई सधैँ पर्दा पछाडि राख्न रुचाउने अभिनेत्री तथा ओशो सन्न्यासी नम्रता सापकोटा अन्ततः वैवाहिक बन्धनमा बाँधिएकी छन्। बिहीबार काठमाडौंस्थित आफ्नै निजी निवासमा दुई परिवारका सीमित सदस्यहरूको उपस्थितिमा उनले ओजस नाम गरेका युवकसँग सात फेरो लिएकी हुन्। बुधवार साँझ अचानक मेहन्दीको फोटो हालेर दर्शकलाई झस्काएकी नम्रताले बिहीबार आफ्नै निवासमा सिन्दूर हालिन्।  

दुलहीको रूपमा नम्रता निकै सुन्दर देखिएकी छन्। उनले लालीगुराँस अङ्कित परम्परागत रातो पहिरन र शिरमा शिर फूल सजिएकी छन् भने उनका श्रीमान् ओजस चिटिक्क परेको शेरवानीमा सजिएका छन्। बुधवार साँझ मात्रै आफ्नो हातमा मेहन्दी लगाएको तस्बिर पोस्ट गर्दै उनले बिहेको हिन्ट दिएकी थिइन्, तर श्रीमानको अनुहार र नाम भने लुकाएकी थिइन्।

नम्रताले २०७८ सालमा ‘अबको ३-४ वर्षमा बिहे भएन भने म बिना बिहे नै बच्चा जन्माउँछु’ भनेकी थिइन्। तत्पश्चात् उनी लामो समय ट्रोल बनिन्। संयोग नै मान्नुपर्छ, उनले भनेको त्यो ३-४ वर्षको समय सीमा पूरा नहुँदै उनले आफ्नो जीवनसाथी भेटाएकी छन् र सिन्दूर लगाएकी छन्।

सन् २०१३ मा ‘अन्तराल’ चलचित्रबाट डेब्यु गरेकी नम्रताले एक दर्जनभन्दा बढी फिल्ममा काम गरिसकेकी छन्। यद्यपि, उनको करिअरको सबैभन्दा ठुलो हिट फिल्म भने ‘छक्का पन्जा’ नै हो, जहाँ उनी अभिनेता जितु नेपालको अपोजिटमा देखिएकी थिइन्। पछिल्लो पटक उनी चलचित्र ‘नम्बरी सुन’ मा देखिएकी थिइन्। ओशो सन्न्यासी बनेपछि फिल्म क्षेत्रबाट अलि टाढा भएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu