‘मितज्यू’को फर्स्ट लुक: दयाहाङ र सौगातको शक्ति प्रदर्शन, गम्भीर मुद्रामा तेरिया



काठमाडौं – आगामी जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र ‘मितज्यू’को फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ। निर्माण टिमले शुक्रवार सार्वजनिक गरेको पोस्टरले ग्रामीण परिवेश, पारिवारिक सम्बन्ध, अहङ्कार र सामाजिक द्वन्द्वको कथावस्तुलाई सङ्केत गर्छ।

पोस्टरको केन्द्रमा फिल्मका मुख्य तीन कलाकार दयाहाङ राई, सौगात मल्ल र तेरिया फौजा मगरलाई कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ। पहाडी पृष्ठभूमिमा रहेको एउटा जिपको अगाडि दयाहाङ र सौगात पन्जा जुधाउँदै शक्ति प्रदर्शन गरिरहेका छन्। उनीहरूको यो टकराबपूर्ण स्थितिलाई जिपको बोनटमा परम्परागत पहिरनमा सजिएकी तेरियाले निकै गम्भीर र विरक्त मुद्रामा हेरिरहेकी छिन्। गाडीको हुटमा सुँगुर, राडीपाखी र तरकारीजस्ता कोसेलीहरू राखिनुका साथै छेउमा डोको र गाग्रीसमेत देखाइएको छ। यस परिदृश्यले पात्रहरू कतै बसाइँ सर्दै गरेको वा कुनै विशेष गन्तव्यको यात्रामा रहेको भान गराउँछ। यी दुई दिग्गज अभिनेताबीचको लडाइँ तेरिया प्राप्तिका लागि हो वा अन्य कुनै सामाजिक र अहम्को कारणले हो भन्ने प्रश्न पोस्टरले अनुत्तरित नै राखेको छ।

अनिल बुढा मगरको निर्देशनमा तयार भएको यस चलचित्रबाट तेरिया मगरले अभिनेत्रीका रूपमा ठुलो पर्दामा डेब्यु गर्दैछिन्। चलचित्रमा दयाहाङ, सौगात र तेरियाका साथै पुष्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तम राज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई र खड्गबहादुर पुन मगर (खबपु) लगायतका कलाकारहरूको अभिनय रहेको छ।

जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको ‘मितज्यू’मा जनक घर्ती मगरको लगानी रहेको छ। चलचित्रको पर्दापछाडिको प्राविधिक पक्ष पनि निकै बलियो निर्माण टिमले सम्हालेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu