
काठमाडौं – हिन्दू धर्मावलम्बीहरूको पर्व रामनवमीको अवसर पारेर नेपाली चलचित्र ‘हामी तीन भाइ’ शुक्रबारदेखि देशभरका सिनेमाघरहरूमा प्रदर्शनमा आएको छ।
मधुसुदन भट्टराईको निर्देशनमा तयार भएको यो चलचित्रले विशेषगरी तीन दाजुभाइबीचको आत्मीय सम्बन्ध, उनीहरूमा आउने उतारचढाव र पारिवारिक मनमुटावलाई हास्यप्रधान र सन्देशमूलक शैलीमा पर्दामा उतारेको छ।
कमेडी र सामाजिक विषयवस्तुको समिश्रण रहेको यस बहुस्टारर चलचित्रमा विनोद न्यौपाने, लक्ष्मी बर्देवा, कुशल विष्ट, आश्मा गिरी र जाहन्वी बस्नेतको मुख्य भूमिका रहेको छ। त्यसैगरी फलित राई, राजाराम पौडेल, रवीन्द्र झा, विष्णु सापकोटा (हर्के हल्दार), विकास चापागाईं, सुष्मा निरौला, यादव देवकोटा (सरापे), अन्जु हमाल, तारा शर्मा लगायतका थुप्रै कलाकारहरूको अभिनय दर्शकले हेर्न पाउनेछन्। साथमा पवन केसी, रमा विष्ट, वीरेन श्रेष्ठ, सुष्मा जिम्बा, खिन्नबहादुर भण्डारी (भोले), गोविन्दप्रसाद पौडेल, भूमिका गिरी, टेकराज पौडेल र अमृतमान महर्जनले पनि पर्दामा साथ दिएका छन्।
प्रसिद्धि सिने आर्ट्स प्रालिको ब्यानरमा निर्माण भएको यस प्रोजेक्टलाई साजित महतले प्रस्तुत गरेका हुन् भने त्रिरत्न श्रेष्ठ र मनोज श्रेष्ठ यसका निर्माता हुन्। चलचित्रको कार्यकारी निर्मातामा विक्रम तामाङ तथा सह–निर्माताहरूमा भक्तलाल श्रेष्ठ, प्रतिमा थापा पोखरेल र दुर्गालक्ष्मी पाण्डे रहेका छन् भने शम्भु कुमार केसीले विशेष सहयोग गरेका छन्। शिवम् अधिकारीको पटकथा तथा संवाद रहेको ‘हामी तीन भाइ’ लाई शिव ढकालले छायांकन र बनिश शाहले सम्पादन गरेका हुन्। चलचित्रका गीतहरूमा साप शक्ति र बाबुल गिरीको सङ्गीत, कमल राई र इन्द्रदेव महर्जनको कोरियोग्राफी तथा देव महर्जनको द्वन्द्व निर्देशन रहेको छ।


