
काठमाडौं – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई नायक अनमोल केसीले विशेष बधाई तथा शुभकामना व्यक्त गरेका छन्। प्रधानमन्त्री बालेनलाई ‘दाइ’ सम्बोधन गर्दै अनमोलले देशले कार्यकारी प्रमुखको रूपमा एक कलाकार पाएकोमा आफू असाध्यै खुसी भएको बताएका छन्।
फेसबुकमार्फत दिएको आफ्नो शुभकामना सन्देशमा नायक केसीले बालेनको जितलाई व्यक्ति विशेषको मात्र नभई सम्पूर्ण नागरिकको आशा र विश्वासको जितको रूपमा अर्थ्याएका छन्।
“हार्दिक बधाई छ, प्रधानमन्त्री बालेन दाइ ! देशले प्रधानमन्त्रीको रूपमा आजबाट कलाकारलाई पाएको छ। असाध्यै खुसी लागेको छ,” उनले लेखेका छन्, “तर, तपाईँ कलाकारको रूपमा मात्र नभई, सम्पूर्ण नेपालीको आशा भरोसाको रूपमा अभूतपूर्व काम गर्नुहोस् भन्ने शुभेच्छा व्यक्त गर्दछु।”
बधाई दिने क्रममा उनले प्रधानमन्त्री शाहको विगतको कार्यशैलीको प्रशंसा गर्दै आगामी दिनमा पनि सोही ऊर्जा कायम रहने विश्वास व्यक्त गरेका छन्। सन्देशको अन्त्यमा उनले भनेका छन्, “सधैँजस्तै सच्चा, सरल र देशका लागि काम गर्ने ऊर्जा यही रूपमा अगाडि बढोस्। धेरै धेरै शुभकामना दाइ !”


