
काठमाडौं – नेपाली चलचित्रका चर्चित अभिनेता पल शाहले नव-नियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र सम्पूर्ण मन्त्रिमण्डललाई सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गरेका छन्। देशलाई नयाँ युगको युवा प्रधानमन्त्री दिएको भन्दै उनले नेता रवि लामिछानेप्रति उच्च सम्मान र कृतज्ञता समेत प्रकट गरेका छन्।
आफ्नो शुभकामना सन्देशमार्फत अभिनेता शाहले रवि लामिछानेले देखाएको आँट, त्याग र देशप्रतिको प्रतिबद्धताले विशेष गरी युवाहरूमा नयाँ आशा र उत्साहको तरङ्ग ल्याएको बताएका छन्। प्रधानमन्त्री बालेनलाई सम्बोधन गर्दै पलले नेपाली जनताले आफ्नो भविष्य सुम्पिएको र देशमा परिवर्तनको दियो बलेको उल्लेख गरेका छन्। देशले परिवर्तन खोजेको र त्यो परिवर्तनको यात्रामा सिङ्गो नेपाल उभिएको भन्दै उनले यो यात्रामा सबैको साथ रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
नयाँ सरकारलाई बधाई तथा शुभकामना व्यक्त गर्ने क्रममा पल शाहले जनताको तर्फबाट मुख्य आठ वटा विषयमा अपेक्षा रहेको स्पष्ट पारेका छन्। उनले नयाँ नेतृत्वबाट सुशासन कायम गर्नुपर्ने, भ्रष्टाचारको पूर्ण रूपमा अन्त्य हुनुपर्ने र युवाहरूका लागि पर्याप्त रोजगारीका अवसरहरू सिर्जना गर्नुपर्ने माग राखेका छन्। यसका साथै, द्रुत आर्थिक विकास, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवामा सुधार, पूर्वाधार विकास र देशमा कानुनको शासन स्थापित हुनुपर्ने कुरालाई उनले जनताको प्रमुख चाहनाका रूपमा प्रस्तुत गरेका छन्।
सही नेतृत्व र जनताको विश्वासले नेपाल अवश्य अगाडि बढ्ने दृढ विश्वास व्यक्त गर्दै अभिनेता शाहले आफ्नो सन्देशको अन्त्यमा ‘जय नेपाल’ भन्दै देशप्रतिको सम्मान दर्साएका छन्।


