चितवनमा थपियो अत्याधुनिक ‘१८ डी’ सिनेमाको मज्जा, अभिनेता प्रदीप खड्काद्वारा उद्घाटन



नारायणगढ – पवित्र पर्व राम नवमीको अवसर पारेर चितवनको भरतपुरस्थित सिजी ल्यान्डमार्कमा अत्याधुनिक प्रविधियुक्त ‘१८ डी’ सिनेमा सञ्चालनमा आएको छ। नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता प्रदीप खड्काले एक विशेष समारोहका बिच सिजी ल्यान्डमार्कको दोस्रो तलामा अवस्थित यस सिनेमाको औपचारिक उद्घाटन गरेका हुन्। फ्लाई ओभर इन्टरटेनमेन्टले सञ्चालनमा ल्याएको यो नयाँ सिनेमा घर कम्पनीको तेस्रो शाखा हो।

उद्घाटनपश्चात् आफैँले १८ डी प्रविधिको प्रत्यक्ष अनुभव सँगाल्दै अभिनेता खड्काले चितवनजस्तो प्रमुख पर्यटकीय सहरमा यस्तो नवीन मनोरञ्जनको साधन भित्रिनु निकै सुखद पक्ष रहेको प्रतिक्रिया दिए। उनले यसै प्रविधिको प्रयोगमार्फत नेपालका सगरमाथा, रारा ताललगायतका मनमोहक पर्यटकीय गन्तव्यहरूलाई विश्वसामु प्रस्तुत गर्न सके देशको समग्र पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने र विदेशी पर्यटकलाई समेत आकर्षित गर्न सकिने विश्वास व्यक्त गरे।

दर्शकहरूले यस १८ डी सिनेमामा १७ वटा भिन्न–भिन्न विषयवस्तुमा आधारित एनिमेटेड चलचित्रहरूको भरपुर आनन्द लिन सक्नेछन्। एक पटकमा ८ देखि १० जना दर्शकले मात्रै सँगै बसेर हेर्न मिल्ने यस विशेष हलमा, चलचित्रको पर्दामा देखिने दृश्यअनुसार दर्शकले १८ वटै फरक–फरक जीवन्त अनुभूतिहरू सँगाल्न पाउनेछन्। चलचित्रको कथावस्तु अनुरूप दर्शक बसेको पूरै सिट घुम्ने, हलभित्रै हिउँ पर्ने तथा पानी झर्ने जस्ता रोमाञ्चक विशेष प्रभाव (स्पेसल इफेक्ट्स) ले मनोरञ्जनको नयाँ आयाम थप्नेछ।

फ्लाई ओभर इन्टरटेनमेन्टका प्रमुख राम थापाले दर्शकहरूको बढ्दो माग र रुचिलाई सम्बोधन गर्दै चितवनमा तेस्रो शाखा विस्तार गरिएको जानकारी दिए। देशकै केन्द्र भाग तथा काठमाडौँ प्रवेशको मुख्य नाकाका रूपमा चिनिने चितवनमा स्थापित यस शाखाले देशभरकै दर्शकलाई आकर्षित गर्ने लक्ष्य कम्पनीले राखेको छ। यसअघि कम्पनीले काठमाडौँको सिटी सेन्टरमा आफ्नो पहिलो शाखा र पोखराको डिज्नील्यान्डमा दोस्रो शाखा सञ्चालनमा ल्याइसकेको छ। स्मरणीय छ, पोखरा शाखाको उद्घाटन गत साता मात्रै महानायक राजेश हमालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu