पर्दामा सुहाना र प्रकाशको पहिलो रोमान्स : ‘परालको आगो’को ‘दुःख सुख जिन्दगानी’ सार्वजनिक



काठमाडौं – आगामी वैशाख ११ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘परालको आगो’को निर्माण पक्षले प्रचारप्रसारलाई तीव्रता दिएको छ। यसै क्रममा शनिवार ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत चलचित्रको दोस्रो साङ्गीतिक प्रस्तुति ‘दुःख सुख जिन्दगानी’ दर्शकमाझ ल्याइएको हो। प्रदर्शन मिति नजिकिँदै जाँदा निर्माण टोलीले यो गीतलाई प्रचारको बलियो हतियारका रूपमा अघि सारेको छ।

चर्चित गायक प्रकाश सपुत र गायिका शान्ति श्री परियारको सुमधुर स्वर रहेको यस लोकलयमा आधारित गीतमा शब्द तथा सङ्गीत पनि गायक सपुत स्वयंले नै भरेका छन्। गीतको सङ्गीत संयोजन भने सुदीप सागरले गरेका छन्। भिडियोमा चलचित्रका मुख्य कलाकार प्रकाश सपुत र सुहाना थापालाई फिचर गरिएको छ। पहिलो पटक स्क्रिन सेयर गरेका यी दुईको ग्रामीण भेगको घाँस–दाउरा र बाख्रा गोठालो जाँदाको अर्ग्यानिक प्रेम भावलाई भिडियोमा उत्कृष्ट ढङ्गले प्रस्तुत गरिएको छ। उनीहरूको यो नव–जोडीलाई दर्शकले निकै रुचाइरहेका छन् र गीतले युट्युबमा सकारात्मक प्रतिक्रिया समेत प्राप्त गरिरहेको छ।

लक्ष्मण सुनारको निर्देशन तथा रामजी लामिछानेको कोरियोग्राफी रहेको यस गीतले गाउँले युवायुवतीको निस्वार्थ मायालाई पर्दामा जीवन्त बनाएको छ। यसअघि सार्वजनिक भएको चलचित्रको टिजर र ‘उडी जाऊँ भने म पन्छी होइन’ बोलको पहिलो गीतले दर्शकबाट अत्यधिक माया पाइसकेको अवस्थामा, यो दोस्रो गीतले चलचित्रप्रतिको कौतूहल थप बढाउने विश्वास निर्माण पक्षको छ।

नेपाली साहित्यका मूर्धन्य स्रष्टा गुरुप्रसाद मैनालीको प्रख्यात कथासङ्ग्रह ‘नासो’मा समाविष्ट कालजयी कथा ‘परालको आगो’बाट प्रेरित रहेर यो चलचित्र निर्माण गरिएको हो। स्मरण रहोस्, ४५ वर्षअघि प्रताप सुब्बाको निर्देशनमा पनि यही नाममा चलचित्र निर्माण भइसकेको छ। यस पटकको आधुनिक रूपान्तरणमा सुहाना र प्रकाशका साथमा सौगात मल्ल, सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँ लगायतको सशक्त अभिनय रहेको छ।

हरि ॐ सिने मेकर्स प्रा.लि.को ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता सुशील पोखरेल हुन् भने सुलभी पोखरेल र सत्यम पोखरेल सह–निर्माताका रूपमा रहेका छन्। पुराना लेखक तथा कलाकार समेत रहेका सुशील देवकोटाको पटकथा तथा संवाद रहेको चलचित्रमा सङ्कल्प भुजेलको छायाङ्कन, मिलन श्रेष्ठको सम्पादन र कुनाल कँवरको रङ संयोजन छ। साङ्गीतिक पक्षतर्फ शान्ति ठटाल, सत्य–स्वरुप आचार्य र प्रकाश सपुतको सङ्गीत तथा किरण तुलाधरको पार्श्व सङ्गीत रहेको छ। गीतका शब्दहरू मनबहादुर मुखिया, सुरेन्द्र राना र प्रकाश सपुतले कोरेका हुन्।

चलचित्रको प्राविधिक पक्ष पनि निकै बलियो छ। कला निर्देशनको जिम्मा प्रतीक चौधरीले सम्हालेका छन् भने मुख्य सहायक निर्देशक करण बहादुर साउद हुन्। यसै गरी, साहिल खानले टिजर र ट्रेलर सम्पादन, समिर मियाँ र सत्यम रानाले भिएफएक्स, मुकेश शाहले साउन्ड मिक्सिङ तथा नगेन्द्र घिमिरेले निर्माण संयोजनको जिम्मेवारी निर्वाह गरेका छन्। डिजिटल अधिकार ओएसआरले लिएको यस चलचित्रको वितरण आरआर फिल्म्सले गर्दैछ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu