चिकित्सक जोडी सुरेश र रेहाले साङ्गीतिक पर्दामा उतारे आफ्नै प्रेमकथा: तीन देशमा छायाङ्कन गरिएको ‘सधैँ साथमा तिम्रो’ सार्वजनिक



काठमाडौं – अमेरिकालाई कर्मथलो बनाएर चिकित्सा पेसामा सक्रिय जोडी सुरेश बस्नेत र रेहा पोखरेलले आफ्नो साङ्गीतिक रुचिलाई पर्दामा उतारेका छन्। यसै क्रममा सुरेश बस्नेतको रहेको रोमान्टिक गीत ‘सधैँ साथमा तिम्रो’को म्युजिक भिडियो हालै सार्वजनिक गरिएको छ। पेसाले चिकित्सक भए तापनि कला र सङ्गीतप्रतिको अगाध स्नेहलाई यो जोडीले यस गीतमार्फत दर्शकमाझ पस्केको हो।

‘दुई मुटु, एक यात्रा’ को मूल भाव (थिम) मा तयार पारिएको यस गीतको भिडियोमा सुरेश र रेहा स्वयंले श्रीमान्-श्रीमतीको भूमिका निर्वाह गरेका छन्। यो भिडियो केवल अभिनयमा मात्र सीमित नभई उनीहरूकै वास्तविक प्रेमकथा र जीवनका आरोह-अवरोहमा आधारित रहेको छ। गोविन पुनको मर्मस्पर्शी शब्द रचना तथा सङ्गीत रहेको यस गीतले उनीहरूको प्रेम यात्रालाई निकै जीवन्त रूपमा प्रस्तुत गरेको छ।

अन्तर्राष्ट्रिय स्तरको निर्माण तथा महँगो लगानी रहेको यस म्युजिक भिडियोको छायाङ्कन अमेरिका, अस्ट्रेलिया र न्युजिल्यान्डका मनमोहक दृश्यहरूमा गरिएको छ। भिडियोलाई विक्रान्त मान श्रेष्ठ र क्रिस्टिना वसिष्ठले संयुक्त रूपमा निर्देशन गरेका हुन् भने पटकथा प्रवीण श्रेष्ठले तयार पारेका हुन्। साहिल खानको सम्पादन रहेको यस भिडियोलाई अस्ट्रेलियामा सौरभ मानन्धर, न्युजिल्यान्डमा युरेका फिल्म्स प्रालि र अमेरिकामा पशुपति बस्यालले छायाङ्कन गरेका हुन्।

सङ्गीतलाई व्यवसायभन्दा पनि नितान्त सोख र समर्पणको रूपमा लिएको यो जोडीले यसलाई दर्शकप्रतिको साङ्गीतिक कोसेली मानेको छ। गायक तथा मोडल सुरेशले आर्थिक लाभका लागि भन्दा पनि गीत सङ्गीतप्रतिको असीम मायाका कारण यो सिर्जना दर्शकमाझ ल्याएको र यसले धेरैको मन छुने विश्वास व्यक्त गरे। 

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu