राजेश र करिश्मा, बमबहादुर कार्कीको सन्देशमूलक गीत ‘म हुँ पानी’ सार्वजनिक



काठमाडौं – कालजयी लोकगीत ‘पानको पात’ का सर्जक तथा वरिष्ठ लोकगायक बमबहादुर कार्कीको नयाँ सन्देशमूलक सांगीतिक कोसेली ‘म हुँ पानी सबको जिन्दगानी’ सार्वजनिक भएको छ। शनिबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमका बीच महानायक राजेश हमालले उक्त गीतको म्युजिक भिडियो औपचारिक रूपमा लोकार्पण गरेका हुन्। प्रकृति र मानव जीवनको मुख्य आधार मानिने पानीको महत्व र यसको संरक्षणको आवश्यकतालाई यस गीतले केन्द्रमा राखेको छ।

यस भिडियोमार्फत नेपाली रजतपटको सदाबहार जोडी राजेश हमाल र करिश्मा मानन्धर लामो समयको अन्तरालपछि एउटै पर्दामा सँगै देखिएका छन्। भिडियोमा हमालले पानीको शक्ति, गरिमा र अपरिहार्यतालाई सशक्त रूपमा प्रस्तुत गरेका छन् भने अभिनेत्री मानन्धरले आफ्नो सुन्दर नृत्य र अभिनयमार्फत प्रकृतिको मनमोहक सौन्दर्यलाई झल्काएकी छन्। यी दुई दिग्गज कलाकारका साथमा सगुन कार्कीको पनि भिडियोमा आकर्षक अभिनय देख्न सकिन्छ।

गायक बमबहादुर कार्की स्वयंको शब्द तथा संगीत सिर्जना रहेको यस गीतमा उनलाई गायनमा शिवा आले कार्की, लोचन भट्टराई र अर्जुन सोनमले सुमधुर स्वरमा साथ दिएका छन्। बि.बि. अनुरागीको संगीत संयोजन रहेको यस गीतको भिडियोलाई देवेन्द्र पाण्डेले निर्देशन गरेका हुन्। हरि हुमागाईँले क्यामेरामा कैद गरेको भिडियोमा नेपालका सुन्दर पहाड, झरना र नदीका दृश्यहरूलाई निकै कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ। विकास दाहालको सम्पादन रहेको यो भिडियो गोरखा म्युजिकमार्फत दर्शकमाझ ल्याइएको हो।

कार्यक्रममा बोल्दै महानायक हमालले पानी नै जीवनको सबैभन्दा ठूलो आधार भएको उल्लेख गर्दै यसको संरक्षण र सदुपयोगमा गम्भीर हुन सबैलाई आग्रह गरे। आफू चलचित्र क्षेत्रमा प्रवेश गर्नुअघि नै गायक कार्कीका गीतहरूमा नाच्ने गरेको स्मरण गर्दै उनले यस्तो अर्थपूर्ण र गहन प्रोजेक्टमा जोडिन पाउँदा निकै खुसी लागेको बताए। त्यसैगरी, अभिनेत्री मानन्धरले भिडियोको उत्कृष्ट निर्माण र सन्देशको प्रशंसा गरिन्। गायक कार्कीले भने बढ्दो प्रदूषणबाट पानीलाई बचाउन र यसको महत्वबारे समाजलाई सचेत गराउन आफूले यो सांगीतिक सिर्जना पस्किएको स्पष्ट पारे।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu