
काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमका बीच गायिका तथा मोडल करुना राई र महानायक राजेश हमाल फिचर्ड नयाँ म्युजिक भिडियो ‘ज्यू ज्यू सोल्टी’ सार्वजनिक गरिएको छ। पूर्वेली भाकामा तयार पारिएको यस रोमान्टिक गीतको भिडियोमा हमाल र राईलाई आकर्षक जोडीका रूपमा प्रस्तुत गरिएको छ।
यस गीतमा करुना राईलाई गायनमा राजकुमार बगरले साथ दिएका छन्। हरि सापकोटाको शब्द रचना रहेको यस गीतमा शंकर बराइलीले संगीत भरेका छन्। देवेन्द्र पाण्डेको निर्देशन तथा कोरियोग्राफी रहेको म्युजिक भिडियोलाई रामकृष्ण चौलागाईंले छायांकन गरेका हुन् भने सम्पादनको जिम्मेवारी विकास दाहालले निर्वाह गरेका छन्।
म्युजिक भिडियो सार्वजनिक गर्न आयोजना गरिएको उक्त कार्यक्रममा गायिका राईको जन्मदिनसमेत उल्लासमय रूपमा मनाइएको थियो। सो अवसरमा विशेष अतिथिका रूपमा उपस्थित चर्चित अभिनेता धिरेन शाक्यले भिडियोमा हमाल र राईको अनस्क्रिन जोडी निकै सुहाएको भन्दै प्रशंसा गरे र गायिकालाई जन्मदिनको शुभकामना व्यक्त गरे।
कार्यक्रममा बोल्दै महानायक हमालले चलचित्र र म्युजिक भिडियो दुवै कलाकै महत्त्वपूर्ण पाटो भएको उल्लेख गर्दै कलाकारले हरेक विधाको कामलाई न्याय गर्न सक्नुपर्ने धारणा राखे। त्यस्तै, गायिका एवं मोडल करुनाले महानायक हमालसँग पर्दामा पाँचौं पटक सहकार्य गर्न पाउनुलाई आफ्नो सांगीतिक तथा अभिनय यात्राको ठूलो अहोभाग्य भएको बताइन्।




