झापामा ‘पाँच पाण्डव’को छायाङ्कन तीव्र: सेटमा जोडिए प्रशान्त ताम्राकार र इभा गिरी



काठमाडौं – यति बेला पूर्वी नेपालको झापामा नेपाली चलचित्र ‘पाँच पाण्डव’को छायाङ्कन भइरहेको छ। ठुलो लगानी र चर्चित अनुहारहरूको बाक्लो उपस्थिति रहेको यस चलचित्रको सुटिङ सुरु भएको दुई साता पुग्दै गर्दा निर्माण टोलीले थप दुई कलाकारलाई सेटमा भित्र्याएको छ। काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको यस प्रोजेक्टमा दिग्गज अभिनेता प्रशान्त ताम्राकार र लोकप्रिय कन्टेन्ट क्रिएटर तथा मोडल इभा गिरी अनुबन्धित हुँदै छायाङ्कनमा सहभागी भएका हुन्।

निर्देशक वसन्त निरौलाका अनुसार छायाङ्कनको १४औँ दिनमा ताम्राकार र गिरीको प्रवेशसँगै चलचित्रको क्यानभास थप फराकिलो र आकर्षक बनेको छ। गत चैत २ गते नेपाल–भारत सीमावर्ती सहर काँकडभिट्टाबाट शुभ मुहूर्त गर्दै फ्लोरमा गएको यस चलचित्रमा पुराना र नयाँ पुस्ताका चर्चित कलाकारहरूको गज्जबको तालमेल देख्न पाइनेछ। चलचित्रमा शीर्ष चरित्र अर्थात् ‘पाँच पाण्डव’को भूमिकामा नेपाली कला क्षेत्रका हस्तीहरू हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सागर लम्साल (बले) रहेका छन्। त्यस्तै, मुख्य महिला पात्रको रूपमा दीपाश्री निरौला र जनी गुरुङ पर्दामा देखिनेछन्।

चलचित्रको नामले पौराणिक वा धार्मिक कथाको आभास दिलाए पनि यो विशुद्ध समसामयिक विषयवस्तुमा आधारित ‘सोसल ड्रामा’ भएको लेखक सुशील पौडेलले प्रस्ट पारेका छन्। उनका अनुसार महाभारतका पाँच पाण्डवको चरित्र र विम्बलाई प्रयोग गरेर वर्तमान नेपाली समाजको यथार्थलाई पर्दामा उतारिनेछ। चलचित्रलाई भव्य र उत्कृष्ट बनाउन बजेटमा कुनै सम्झौता नगरिएको प्रस्तुत कर्ता नवीन श्रेष्ठ बताउँछन्। गत वर्ष ‘लाज शरणम्’ निर्माण गरेका श्रेष्ठले यस चलचित्रमा हरिवंश आचार्यजस्ता अग्रजदेखि पछिल्लो पुस्ताका लोकप्रिय कलाकारहरू सँगै रहेकाले यो वर्षकै प्रतीक्षित चलचित्र बन्ने विश्वास व्यक्त गरेका छन्।

काली रानी श्रेष्ठको निर्माण रहेको यस चलचित्रको छायाङ्कन अवधि ४० दिनको तय गरिएको छ। झापाका रमणीय र महत्त्वपूर्ण स्थानहरूमा अधिकांश दृश्य कैद गरिएपछि टोली अन्य गन्तव्यतर्फ लाग्ने निर्देशक निरौलाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu