आयोगको प्रतिवेदनप्रति गायक शिव परियारको गम्भीर आपत्ति, भने- ‘मैले भ्रम फैलाएको होइन, सत्य बुझ्न खोजेको हुँ’



काठमाडौं – लोकप्रिय गायक शिव परियारले गौरीबहादुर कार्की आयोगको प्रतिवेदनमा आफूलाई ‘सामाजिक सञ्जालमा भ्रामक प्रचार गर्ने व्यक्ति’का रूपमा चित्रण गरिएको भन्दै गम्भीर आपत्ति जनाएका छन्। सोमबार एक आधिकारिक प्रेस विज्ञप्ति जारी गर्दै उनले उक्त आरोप वास्तविकतामा आधारित नरहेको स्पष्ट पार्दै सरकारसमक्ष न्यायको माग गरेका हुन्।

वि.सं. २०८२ साल भाद्र २३ गते भएको ‘जेन–जी आन्दोलन’का क्रममा सिर्जित जटिल र संवेदनशील परिस्थितिमा आफूले केवल नागरिकको सही सूचना पाउने हकको प्रयोग गर्दै एउटा जिज्ञासामूलक प्रश्न मात्र राखेको परियारले दाबी गरेका छन्। भाद्र २४ गते सामाजिक सञ्जालमा ‘बेपत्ता पारिएका ३२ जना संसद् भवनभित्र मृत फेला’ भन्ने खबर भाइरल भएपछि उनले आफ्नो फेसबुकमा “हिजो बेपत्ता पारिएका ३२ जना संसद् भवनभित्र मृत फेला भन्ने खबर छ, के यो सत्य हो?” भनी प्रश्न गरेका थिए। कुनै पनि दाबी वा भ्रामक सूचना प्रवाह गर्ने उद्देश्य आफ्नो नरहेको उनले प्रस्ट्याएका छन्।

उक्त पोस्टपछि शुभचिन्तक र फलोअरहरूबाट प्राप्त प्रतिक्रियाका आधारमा सो खबर झुटो रहेको थाहा पाए लगत्तै आफूले स्ट्याटस हटाएको उनले विज्ञप्तिमा उल्लेख गरेका छन्। तर, भाद्र २६ गतेदेखि केही अनलाइन सञ्चारमाध्यम, फेसबुक पेज र ग्रुपहरूले आफ्नो पोस्टको वास्तविकतालाई बङ्ग्याएर पूर्वाग्रही तथा प्रतिशोधात्मक रूपमा ‘भ्रम फैलाउने व्यक्ति’ भन्दै समाचार सम्प्रेषण गरेको उनको गुनासो छ।

सोही समयमा प्रकाशित तिनै भ्रामक समाचारहरूलाई आधार मानेर गौरीबहादुर कार्की आयोगले आफ्नो नाम प्रतिवेदनमा समावेश गरेको भन्दै उनले दुःख व्यक्त गरेका छन्। यस प्रकारको आरोपले आफ्नो संवैधानिक अधिकार, व्यक्तिगत प्रतिष्ठा र कलाकारको छविमा गम्भीर आँच पुगेको बताउँदै उनले सरकार तथा सम्बन्धित निकायसमक्ष उक्त निष्कर्षमाथि पुनर्विचार गर्न र पुनर्मुल्याङ्कन गरी न्याय दिलाउन माग गरेका छन्। सत्य तथ्य छानबिनका लागि आवश्यक परेमा आफूले सम्पूर्ण रूपमा सहयोग गर्न तत्पर रहेको प्रतिबद्धतासमेत उनले जनाएका छन्।

विज्ञप्तिको अन्त्यमा गायक परियारले आफू सधैँ सचेत नागरिक र जिम्मेवार कलाकारको रूपमा साङ्गीतिक क्षेत्रमा लागिरहने प्रतिबद्धता व्यक्त गर्दै सम्पूर्ण सर्वसाधारणलाई भ्रामक सूचनाप्रति सजग रहन आग्रह गरेका छन्। आफ्नो दाबीलाई पुष्टि गर्न उनले तत्कालीन अवस्थामा राखेको स्ट्याटसको स्क्रिन सटसमेत प्रमाणका रूपमा सार्वजनिक गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu