
काठमाडौं – नेपाली चलचित्रका लोकप्रिय अभिनेता अनमोल केसीको जन्मदिनको अवसरमा उनकी आमा सुस्मिता केसीले अत्यन्तै भावुक र मर्मस्पर्शी शुभकामना सन्देश सार्वजनिक गरेकी छन्। अनमोल र सुस्मिता लामो समयदेखि सँगै बस्दैनन्, तर आमा छोरा बीचको अगाध प्रेम भने उस्तै प्रगाढ रहेको कुरा सुस्मिताको सन्देशले प्रस्ट पारेको छ।
सुस्मिता र अभिनेता भुवन केसीको सम्बन्ध विच्छेद पछि अनमोल आफ्ना बाबु भुवनसँगै बस्दै आएका छन् भने सुस्मिता आफ्नै छुट्टै दुनियाँमा रमाइरहेकी छन्। यद्यपि, भौतिक दुरीले उनीहरूबीचको आत्मीयता र मातृ वात्सल्यलाई कुनै असर नगरेको उनको यो शुभकामना सन्देशबाट झल्किन्छ।
आफ्नो सामाजिक सञ्जालमार्फत अनमोललाई ‘ज्यान’ सम्बोधन गर्दै सुस्मिताले लेखेकी छन्, “ह्याप्पी बर्थडे ज्यान… तिमी मेरो छोरा मात्र होइनौ, मेरो मुटुको ढुकढुकी, मेरो आत्मा र मेरो अँगालो बाहिर यो संसारमा हिँड्ने मेरै एउटा जीवित अंश हौ।”
उनले अनमोललाई आफ्नो सर्वस्व, मुस्कानको कारण, शक्ति र बाँच्नुको उद्देश्य भएको बताएकी छन्। छोराप्रतिको अथाह प्रेम दर्साउँदै उनले अगाडि लेखेकी छन्, “तिमीलाई सधैँ मेरो अँगालोमा राखिराख्न र हरेक चोटबाट बचाउन पाऊँ भन्ने मेरो सबैभन्दा ठुलो चाहना छ। मलाई थाहा छ, मेरो माया र भगवान् महादेवको दिव्य उपस्थिति सधैँ तिम्रो साथमा छ, जसले तिमीलाई जीवनको हरेक मोडमा मार्गदर्शन र रक्षा गर्नेछ।”
आफ्नो जीवनको सबैभन्दा अमूल्य हिस्सा र सबैभन्दा ठुलो आशीर्वादको रूपमा अनमोललाई चित्रण गर्दै सुस्मिताले छोराको जीवनमा सुख, सफलता र अनन्त प्रेमको कामना गरेकी छन्। उनले सन्देशको अन्त्यमा भनेकी छन्, “ह्याप्पी बर्थडे ज्यान… मेरो संसार अनमोल केसी।”
सँगै नभए पनि आमाले छोराप्रति व्यक्त गरेको यो गहिरो र निःस्वार्थ प्रेमको पोस्टले यति बेला धेरै दर्शक र शुभचिन्तकहरूको मन छोएको छ।


