‘आ बाट आमा २’मा बिपना र पलपछि अब आकाश श्रेष्ठको इन्ट्री



काठमाडौं – बक्स अफिसमा १३ करोडभन्दा बढीको सानदार व्यापार गर्दै ब्लकबस्टर साबित भइरहेको फिल्म ‘आ बाट आमा’को सिक्वेलमा नयाँ अनुहार जोडिने क्रम सुरु भएको छ। निर्देशक चन्द्र पन्तको फिल्म ‘आ बाट आमा २’ को एक महत्त्वपूर्ण भूमिकाका लागि लोकप्रिय अभिनेता आकाश श्रेष्ठ अनुबन्धित भएका छन्। निर्माण टिमले सोमबार उनलाई औपचारिक रूपमा फिल्ममा भित्र्याएको हो।

आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको यस फिल्ममा यसअघि नै अग्रज अभिनेत्री बिपना थापा र स्टार अभिनेता पल शाह मुख्य भूमिकामा पक्का भइसकेका छन्। फिल्मको कथावस्तु र चरित्रको गहिराइलाई मध्यनजर गर्दै आकाशलाई टिममा समावेश गरिएको निर्देशक पन्तले जानकारी दिएका छन्। अघिल्लो शृङ्खलामा आमाको जीवन्त भूमिकामा बिपना थापा र छोराको भूमिकामा पल शाहले दर्शकको मन जितेका थिए भने भारतीय सिनेमाका चर्चित अभिनेता प्रदीप रावतले बुबाको चरित्र निर्वाह गरेका थिए। यद्यपि, सिक्वेलमा रावतको उपस्थिति रहने वा नरहने भन्ने विषयमा निर्माण युनिटले हालसम्म कुनै जानकारी दिएको छैन। बाँकी कलाकारहरूको छनोट प्रक्रिया जारी रहेको र बिस्तारै सार्वजनिक गर्दै जाने निर्देशक पन्तको भनाइ छ।

निर्देशक पन्त स्वयंको कथा लेखन रहेको यस फिल्मको छायाङ्कन आगामी नयाँ वर्ष अर्थात् वैशाख महिनादेखि सुरु गर्ने तालिका तय गरिएको छ। पहिलो भागले हलहरूमा अझै पनि उत्कृष्ट प्रदर्शन गरिरहेको अवस्थामा दर्शकको अत्यधिक माग र उत्साहलाई सम्बोधन गर्दै निर्माण पक्षले सिक्वेलको कामलाई तीव्रता दिएको हो। आर आर फिल्म्सले वितरणको जिम्मा लिएको ‘आ बाट आमा २’ लाई आउँदो दसैँको पावन अवसर पारेर देशभरका सिनेमाघरमा प्रदर्शन गर्ने लक्ष्य निर्माण पक्षले राखेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu