
काठमाडौं – अभिनेता अनमोल केसीको जन्मदिनको अवसर पारेर उनको आगामी चलचित्र ‘बाटुलो जून’को प्रदर्शन मिति र पोस्टर सार्वजनिक गरिएको छ। सनराइज पिक्चर्स प्रालिको ब्यानरमा निर्माण भइरहेको यस चलचित्रलाई आगामी वर्ष २०८३ को दसैँको फूलपाती अर्थात् असोज ३० गते (अक्टोबर १६) का दिन देशभरका सिनेमा घरमा ल्याउने घोषणा निर्माण पक्षले सोमबार गरेको हो।
पोस्टरमा अभिनेता अनमोल केसीलाई अभिनेत्री प्रिन्सी खतिवडासँग प्रस्तुत गरिएको छ। पृष्ठभूमिमा पूर्णिमाको चम्किलो बाटुलो जून देखाइएको उक्त पोस्टरमा अनमोलले एकापट्टि तत्कालीन परिवेश झल्काउने राँको बोकेका छन् भने अर्को हातले पाउजु लगाएको प्रिन्सीको खुट्टा समाएका छन्। पोस्टर सार्वजनिक गर्दै अनमोलले जन्मदिनको अवसरमा आफ्ना दर्शक तथा शुभचिन्तकहरूलाई यो एउटा सानो उपहार भएको बताउँदै ‘दसैँमा भेटौँला’ भन्ने सन्देश प्रवाह गरेका छन्। आफ्नो फिल्मी यात्राको सुरुवातदेखि नै दर्शकले दिएको अथाह मायाप्रति कृतज्ञता व्यक्त गर्दै उनले राम्रो काममा ताली र कमजोरीमा खबरदारीको सधैँ अपेक्षा रहने उल्लेख गरेका छन्।
चलचित्रमा अनमोल आफ्ना अघिल्ला फिल्महरूभन्दा विल्कुलै फरक र नौलो अवतारमा देखिने भएका छन्। यस चलचित्रको निर्देशन अनमोलका पिता तथा अग्रज अभिनेता भुवन केसीले गरिरहेका छन् भने उनी आफैँ पनि फिल्मको एक प्रमुख भूमिकामा पर्दामा देखिनेछन्। विशुद्ध ग्रामीण परिवेशको प्रेमकथामा आधारित यस चलचित्रका निर्माता जिया केसी र भविष्य खड्का हुन्। निर्माता केसीका अनुसार यस फिल्मले दर्शकलाई ३० वर्ष पुरानो नेपाली समाजको सुगन्ध दिलाउनुका साथै वर्तमानको आभास पनि गराउनेछ। जीवनको कुनै न कुनै मोडमा प्रेमको अनुभूति गरेका हरेक दर्शकको मन छुन यो फिल्म सफल हुने विश्वास उनले व्यक्त गरेकी छन्।
चलचित्रमा भुवन केसी, अनमोल र प्रिन्सीका अलावा नेन्सी खड्का, प्रकाश घिमिरे, रेअर राई, दीपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरी, शारदा गिरी, लक्ष्मीनाथ तिमिल्सिना, शिशिर सिवाकोटी, अर्पणा घतानी, विविका पौडेल र कमल देवकोटा लगायतका कलाकारहरूको जम्बो टोलीको अभिनय रहनेछ। सामीप्यराज तिमिल्सेना र सरिन पोखरेलको लेखन रहेको छ।


