स्वस्तिमाको नयाँ जोडी बनेर उदाए विशाल: ‘लालीबजार’को नयाँ पोस्टर सार्वजनिक



काठमाडौं – आगामी वैशाख १८ गतेबाट देशभरका सिनेमाघरमा प्रदर्शनमा आउन लागेको चलचित्र ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। निर्माण कम्पनी षट्कोण आर्ट्सले सार्वजनिक गरेको उक्त पोस्टरमा नेपाली रजतपटकी चल्तीकी अभिनेत्री स्वस्तिमा खड्कासँगै नवनायक विशाल देवकोटालाई रोमान्टिक जोडीको रूपमा प्रस्तुत गरिएको छ। रङ्गमञ्चमा अभिनेता तथा निर्देशकको छवि बनाइसकेका विशालले अडिसनमार्फत आफ्नो उत्कृष्ट अभिनय कौशल प्रमाणित गर्दै डेब्यु फिल्ममै स्वस्तिमासँग स्क्रिन सेयर गर्ने सुवर्ण अवसर पाएका हुन्।

सानै उमेरदेखि कलाकार बन्ने अठोट लिएका विशालले कान्तिपुर थिएटरमा मञ्चन भएको नाटक ‘मिरा’ मार्फत फिल्म निर्माताहरूको ध्यान खिचेका थिए। उक्त नाटक हेर्न पुगेका चलचित्रका कार्यकारी निर्माता प्रदीप भट्टराई, निर्माता रवीन्द्रसिंह बानियाँ र क्रिएटिभ निर्देशक जेबी रुवालीले उनको अभिनयबाट प्रभावित भई अडिसनका लागि बोलाएका थिए। विभिन्न चरणको परीक्षण पार गरेपछि मात्र आफू यस ठुलो प्रोजेक्टका लागि छनोट भएको विशालले बताएका छन्। स्थापित ब्यानरबाट डेब्यु गर्न पाउनुलाई उनले आफ्नो सुखद सुरुआत र सौभाग्य मानेका छन्।

रङ्गमञ्चको लामो अनुभव सँगालेका देवकोटाले नाटक र चलचित्रको अभिनय शैलीमा निकै भिन्नता पाएको अनुभव सुनाएका छन्। नाटकमा एकै पटक मञ्चमा चढेर पात्रलाई पूर्ण रूपमा जिउन पाइने भए पनि फिल्ममा भने दृश्यहरूलाई टुक्रा टुक्रा पारेर क्यामेरासामु प्रस्तुत हुनुपर्ने उनको बुझाइ छ। ‘लालीबजार’ विशुद्ध नेपाली समाजको यथार्थ कथा र परिवेशमा निर्माण भएको पारिवारिक चलचित्र रहेको बताउँदै उनले सम्पूर्ण दर्शकलाई वैशाख १८ गते सपरिवार हलमा गएर फिल्म हेरिदिन आग्रहसमेत गरेका छन्।

प्रदर्शन अगावै यस चलचित्रको साङ्गीतिक पक्षले भने निकै ठुलो चर्चा बटुलिसकेको छ। सार्वजनिक गीत ‘मायालाई के दिऊँ म बैना’ लाई युट्युबमा ८० लाखभन्दा बढी दर्शकले हेरिसकेका छन्। यो गीत यति बेला टिकटक, फेसबुक रिल्स र युट्युब सर्ट्सजस्ता सामाजिक सञ्जालका प्लेटफर्महरूमा भाइरल बनिरहेको छ। बर्दियाको राजापुर क्षेत्रमा मुख्य रूपमा छायाङ्कन गरिएको यस फिल्ममार्फत विशाल देवकोटाका साथै अर्की नवनायिका प्रशंसा सुवेदीले पनि जेनजी पुस्ताको प्रतिनिधित्व गर्दै डेब्यु गर्दैछिन्।

चलचित्रमा स्वस्तिमा र विशालका अलावा रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी र बिरबल चौधरी लगायतका कलाकारहरूको बलियो अभिनय रहेको छ। यम थापाको कथा तथा निर्देशन रहेको यस चलचित्रको पटकथा र संवादमा निर्देशक थापालाई प्रदीप भट्टराईले सघाएका छन्।

म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँको निर्माण तथा प्रदीप भट्टराईको कार्यकारी निर्माण रहेको यस फिल्मको प्राविधिक पक्ष पनि निकै सबल छ। सुशन प्रजापतिको छायाङ्कन रहेको ‘लालीबजार’ लाई मित्रदेव गुरुङले सम्पादन गरेका हुन्। चलचित्रमा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, उमेश चौधरीको कला निर्देशन, रेनिश फागोको कलर संयोजन तथा समिर श्रेष्ठ र सत्यम रानाको भिएफएक्स रहेको छ। त्यसै गरी, प्रकाश सपूत, खेम सेन्चुरी र जयन जे वाइवाको सङ्गीत रहेको यस फिल्ममा रोहित शाक्य र शैलेश श्रेष्ठले ब्याकग्राउन्ड म्युजिक र मिक्सिङको जिम्मा सम्हालेका छन्। चलचित्रको प्रोडक्सन हेड रूपकप्रताप अधिकारी हुन् भने कस्ट्युम डिजाइन जानकी कडायत, मेकअप काव्या थापा र पब्लिसिटी डिजाइन रोयल भीमसेन (ट्राइडेन्ट) ले गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu