‘राम नाम सत्य’लाई सोलो रिलिजको चिट्ठा, आधुनिक राजकुमारी बनेकी दिव्या भन्छिन्- ‘फिल्म गज्जब छ’



काठमाडौं – आगामी नयाँ वर्षको अवसर पारेर चैत २७ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘राम नाम सत्य’ले बक्स अफिसमा ‘सोलो रिलिज’ (एकल प्रदर्शन) को उत्कृष्ट अवसर पाएको छ। सोही मितिमा प्रदर्शनमा आउने भनिएका अन्य चलचित्रहरूले आफ्नो प्रदर्शन मिति पछाडि सारेपछि माइकल चन्दको निर्देशनमा तयार भएको यस चलचित्रले हलमा एक्लै भिड्ने मौका पाएको हो। प्रदर्शन मिति नजिकिँदै गर्दा सार्वजनिक भएको चलचित्रको टिजर र ‘धागोले बाटेको, हुम्लाको लिमी’ बोलको गीतले यति बेला दर्शकको राम्रो साथ पाउनुका साथै साङ्गीतिक बजारमा चर्चा बटुलिरहेको छ।

चलचित्रमा बिराज भट्ट, सुशील श्रेष्ठ, सुपुष्पा भट्ट, दिव्या रायमाझी, आयुष सिंह ठकुरी, खुसी कार्की, सुनिल थापा, प्रशान्त ताम्राकार र दिनेश डिसीलगायतका चर्चित तथा अनुभवी कलाकारहरूको जम्बो टोलीले अभिनय गरेको छ। यसै सन्दर्भमा, चलचित्रकी प्रमुख अभिनेत्री दिव्या रायमाझीले आफ्नो भूमिका र समग्र चलचित्रलाई लिएर निकै उत्साह व्यक्त गरेकी छन्। आफूले यसअघि गरेका कामहरूभन्दा यसमा बिल्कुलै फरक अवतारमा प्रस्तुत भएको र आफ्नो अभिनय क्षमता देखाउने प्रशस्त ठाउँ पाएको उनले बताएकी छन्। यस चलचित्रमा दिव्याले एक ‘आधुनिक राजकुमारी’ को विशेष भूमिका निर्वाह गरेको खुलासा समेत गरेकी छन्।

चलचित्रको विषयवस्तुबारे बोल्दै दिव्याले यो पूर्ण रूपमा एक्सन प्रधान भए तापनि यसमा भावना, सस्पेन्स र प्रेमको सुन्दर सम्मिश्रण रहेको दाबी गरेकी छन्। उनले आफ्नो चलचित्र भएकाले मात्र नभई साँच्चै नै उत्कृष्ट बनेकाले दर्शकलाई मन पर्ने दाबी गरिन्। उनले भनिन्, “सबै कुरा मिलेर एउटा उत्कृष्ट चलचित्र बनेको छ। दर्शकहरूले यो चलचित्र हेरेर भरपुर मनोरञ्जन लिनुहुनेछ भन्नेमा म पूर्ण विश्वस्त छु।” चलचित्रमा अभिनेता सुशील श्रेष्ठसँग जोडी बाँधेकी दिव्याले उनीसँग काम गर्दा निकै सहज अनुभव भएको समेत बताएकी छन्।

उपेन्द्र शाही र श्वेता बिमलीको संयुक्त लगानीमा निर्माण भएको यस चलचित्रलाई लिएर यति बेला निर्माण टोली र सम्पूर्ण कलाकारहरू निकै आशावादी देखिएका छन्। एक्सन र प्रेमकथामा आधारित यस चलचित्रको पटकथा तथा संवाद लेखनको गहन जिम्मेवारी पनि निर्देशक माइकल चन्द स्वयंले नै सम्हालेका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu