
काठमाडौं – निर्माण कम्पनी सेभेन सिज सिनेमाले आगामी वर्षको जेठ १५ गते अर्थात् गणतन्त्र दिवसको अवसर पारेर प्रदर्शनमा ल्याउन लागेको नयाँ चलचित्र ‘रोल नं १’ को पहिलो झलक (पोस्टर) सार्वजनिक गरेको छ। बिहीबार सार्वजनिक गरिएका दुई वटा पोस्टरले ग्रामीण परिवेशमा शिक्षाका लागि एउटा भुइँमान्छेको परिवारले गर्ने असीम सङ्घर्ष र देखेको सपनालाई सजीव रूपमा उतारेका छन्।
माटोको रङलाई प्राथमिकतामा राखेर तयार पारिएका पोस्टरहरूले नेपाली समाजको सीमान्तकृत वर्गको यथार्थलाई चित्रण गरेका छन्। पहिलो पोस्टरमा मुख्य अभिनेता मुकुन भुसाल, अभिनेत्री रेणु योगी र बाल–कलाकार निर्भिक रेग्मीलाई ग्रामीण भेसभुसामा देख्न सकिन्छ। अभाव र गरिबीका बीच पनि आफ्नो सन्तानलाई पढाउन आमाबाबुले गरिरहेको त्याग यसमा झल्किन्छ। स्कुलको झोला बोकेर मुस्कुराइरहेका बालकको पछाडि दमाहा भिरेका बाबु र थाप्लोमा कालो कराइ बोकेकी आमा उभिएका छन्। पृष्ठभूमिमा देखिने दूर दराजको सरकारी विद्यालयले ग्रामीण भेगमा शिक्षा अझै पनि सहज पहुँचभन्दा टाढा रहेको तितो यथार्थलाई इङ्गित गर्छ। मैला लुगा र पसिनाले भिजेका अनुहारले छोरालाई ‘रोल नं १’ बनाउने आमाबाबुको दृढ अठोटलाई प्रस्ट पारेको छ।
त्यसै गरी, दोस्रो पोस्टरले बाबु र छोराबीचको गहिरो भावनात्मक सम्बन्धलाई प्रस्तुत गरेको छ। बाबुको पिठ्युँमा निश्चिन्त भएर निदाइरहेका बालक र थकित अनुहारसहित केही चिन्तित देखिएका बाबुको तस्बिरले दर्शकको मन छुन्छ। उनीहरूको बीचमा रहेको एउटा कापीले शैक्षिक सामग्री जुटाउन ग्रामीण अभिभावकले भोग्नुपर्ने सकसलाई बिम्बात्मक रूपमा प्रस्तुत गरेको छ। बाबुको अनुहारमा सन्तानको भविष्य सुनिश्चित गर्न सकिन्छ कि सकिँदैन भन्ने त्रास र थकान देखिन्छ भने बालकको शान्त भावले बाबुप्रतिको अगाध विश्वासलाई दर्साउँछ। ‘हरेक विद्यार्थीको कथा’ ट्याग लाइन राखिएको यस सिनेमाले कक्षाकोठामा पहिलो हुने (रोल नं १) होडबाजीभन्दा पनि त्यो स्थानसम्म पुग्न एउटा निम्न वर्गीय परिवारले चुकाउनुपर्ने भारी मूल्यको कथा बोल्ने पक्का छ।
यसअघि ऐतिहासिक व्यापार गर्न सफल चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ निर्माण टिमकै प्रस्तुति रहेकाले पनि यस सिनेमाको भावनात्मक पाटोले दर्शकलाई सजिलै बाँध्ने अपेक्षा गरिएको छ। जौन योञ्जनको निर्देशन तथा महेश दवाडीको लेखन रहेको सिनेमामा मुकुन र रेणुका साथमा सुशांक मैनाली र सिर्जना अधिकारीको मुख्य भूमिका छ। त्यस्तै, बाल–कलाकारहरूमा निर्भिक रेग्मीका अलावा रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठले अभिनय गरेका छन्। हिमाली जिल्ला म्याग्दीका रमणीय र दुर्गम स्थलहरूमा छायाङ्कन गरिएको यस चलचित्रलाई शिवराम श्रेष्ठले क्यामरामा कैद गरेका हुन्।
विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको यस चलचित्रका सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं रहेका छन्। चलचित्रमा प्रशान्त सिवाकोटीको सङ्गीत, रोहित शाक्यको पार्श्व सङ्गीत, मदन घिमिरेको सम्पादन तथा कला सङ्ग्रौलाको प्रोडक्सन डिजाइन रहेको छ। त्यसै गरी फिरोज खड्का मुख्य सहायक निर्देशक र मनोज जोशी प्रोडक्सन हेडका रूपमा रहेका छन्। निर्माता पौडेलका अनुसार जे एम सिनेमा र रिच इन्टरटेन्मेन्टले वितरणको जिम्मा लिएको ‘रोल नं १’ नेपाल र विदेशका सिनेमाघरहरूमा एकैसाथ प्रदर्शनमा आउनेछ।


