तीन पुस्ताका महिलाको भोगाइ बोल्ने ‘एक मुठ्ठी बादल’को गीत ‘रेल घुम्यो घुम्तीमा’ सार्वजनिक



काठमाडौँ – आगामी जेठ १ गतेदेखि सिनेमाघरमा आउन लागेको चलचित्र ‘एक मुठ्ठी बादल’ निर्माण पक्षले आफ्नो साङ्गीतिक प्रसार सुरु गर्दै पहिलो गीत सार्वजनिक गरेको छ। ‘रेल घुम्यो घुम्तीमा’ बोलको सार्वजनिक गीतले एउटै घरभित्रका तीन पुस्ताका महिलाहरूको जीवन भोगाइ र भावनालाई साङ्गीतिक रूपमा पस्किएको छ। सार्वजनिक भिडियोमा अभिनेत्रीहरू आँचल शर्मा, निशा शर्मा, उषा रजकका साथमा अभिनेता सहयोग अधिकारीलाई प्रस्तुत गरिएको छ।

विवाहको अघिल्लो दिन हुने पारिवारिक रमझम र उल्लासलाई पृष्ठभूमि बनाएर तयार पारिएको यस गीतले विवाहको तयारीसँगै जोडिने महिलाका अन्तर्निहित कथा र अनुभवलाई उजागर गर्ने प्रयास गरेको छ। यसै गीतमार्फत नेपाल आइडल सिजन २ का उपविजेता समेत रहेका गायक सुमित पाठकले चलचित्र सङ्गीत निर्देशनमा डेब्यु गरेका छन्। सुमितको सङ्गीत रहेको यस गीतमा मिना पोखरेल र इन्द्रकला राईको सुमधुर स्वर सुन्न सकिन्छ भने शब्द रचना हर्क साउदले गरेका हुन्।

चलचित्रकी निर्देशक सहारा शर्माका अनुसार यस गीतमा प्रस्तुत भएका आवाजहरू नै समग्र चलचित्रको मुख्य सार हुन्। गीतकार साउदसँगको चरणबद्ध सहकार्यपछि चलचित्रको कथालाई गीतमा ढाल्ने चुनौतीपूर्ण काम सफल भएको उनले बताएकी छन्। हजुरआमादेखि नातिनी पुस्तासम्मका सबै महिलाले अपनत्व महसुस गर्न सक्ने सिर्जना पस्कने उद्देश्य गीतले पूरा गरेको र सिनेमाले उठान गरेका धेरै विषयमध्ये एउटा महत्त्वपूर्ण पाटो यसै गीतमा उनिएको निर्देशक शर्माको भनाइ छ। चलचित्रको मूल मर्म बोकेको यो भिडियोको निर्देशन भने प्रतीक गुरुङले गरेका हुन्। कृतिका बरालको कोरियोग्राफी रहेको भिडियोमा निहाल भण्डारीको छायाङ्कन तथा कृष्ण भण्डारीको सम्पादन र कलर ग्रेडिङ रहेको छ।

सहारा शर्माकै लेखन तथा निर्देशन रहेको यस चलचित्रको सबैभन्दा सबल र उल्लेखनीय पक्ष भनेको यसको निर्माणका अधिकांश प्राविधिक तथा कला विधामा महिलाहरूको नेतृत्व रहनु हो। लिन्ह डान गुयेन फानको छायाङ्कन, यशस्वी सभरवालको प्रडक्सन डिजाइन, अग्रणी ठकुरी झाको कला, जानकी कडायतको भेषभूषा र कीर्ति जोशीको मेकअप रहेको यस चलचित्रमा प्रमुख सहायक निर्देशकको जिम्मेवारी मर्णा जेम्सले सम्हालेकी छन् भने उनलाई शर्मिला आले र मीरा खड्काले सघाएका छन्। चलचित्रको सम्पादन भने गौरव मल्लिकले गरेका हुन्।

चलचित्रमा आँचल शर्मा, निशा शर्मा, उषा रजक, भिमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईँ, मनिष निरौला, गौरव विष्ट र अविरलप्रताप अधिकारी लगायतका कलाकारहरूको अभिनय रहेको छ। गौँथली इन्टरटेनमेन्ट र मन प्रडक्सनको संयुक्त ब्यानरमा निर्माण भएको यस चलचित्रका निर्माता अभिमन्यु दीक्षित हुन् भने कार्यकारी निर्माताको रूपमा निकुन श्रेष्ठ रहेका छन्। त्यसै गरी, जर्मन निर्माता सारा फाजिलात, सामीप्य राज तिमल्सेना र अनुप पौडेलको समेत निर्माणमा सहकार्य रहेको ‘एक मुठ्ठी बादल’लाई नेपालभर आरआर फिल्म्सले वितरण गर्नेछ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu