विराजको एक्सन र सुशील-दिव्याको रोमान्सले सजिएको ‘राम नाम सत्य’को ट्रेलर सार्वजनिक



काठमाडौं – आगामी चैत्र २७ गतेदेखि देशभरका सिनेमाघरमा एकल प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र ‘राम नाम सत्य’को ट्रेलर सार्वजनिक भएको छ। काठमाडौंस्थित वान सिनेमाजमा आयोजित एक विशेष कार्यक्रमका बीच निर्माण पक्षले एक्सन, प्रेमकथा र सस्पेन्सले भरिपूर्ण ट्रेलर दर्शकमाझ पस्किएको हो।

कथा लेखन, पटकथा तथा निर्देशनको जिम्मेवारी सम्हालेका माइकल चन्दको यस चलचित्रको ट्रेलरमा सदाबहार नायक बिराज भट्टलाई उनको परिचित दमदार एक्सन र शक्तिशाली संवादमा देख्न सकिन्छ। यसका साथै, ट्रेलरले नायक सुशील श्रेष्ठ र नायिका दिव्या रायमाझीबीचको रोमान्टिक पाटोलाई निकै आकर्षक ढङ्गले प्रस्तुत गरेको छ भने बिराज र सुशीलबीचको एक्सन भिडन्तले दर्शकमा थप रोमाञ्चकता पैदा गरेको छ। चलचित्रमार्फत अभिनय यात्रा सुरु गर्न लागेका नव–नायक आयुष सिंह ठकुरीलाई रहस्यमयी भूमिकामा प्रस्तुत गरिएको छ, जसले कथामा सस्पेन्सको माहौल सिर्जना गर्दै दर्शकको उत्सुकता बढाएको छ।

त्यस्तै, पछिल्लो समय निकै चर्चामा रहेको ‘हुम्लाको लिमी’ बोलको गीतमा नायक भट्टसँगै कम्मर मर्काएकी नव–नायिका खुशी कार्कीको उपस्थिति पनि ट्रेलरमा देख्न सकिन्छ। चलचित्रमा दिनेश डिसी, सुधीर श्रेष्ठ, आशा पौडेल, सन्तोष सरकार, विकास खनाल, रवि, सुशान्त कुमार श्रेष्ठ, उपेन्द्र शाही लगायतका दर्जनौँ स्थापित तथा नवप्रवेशी कलाकारहरूको अभिनय रहेको छ। यसका अतिरिक्त आयुष विक्रम शाही, अधिराज चन्द, संरचना चन्द र शृङ्खला विष्टले बाल–कलाकारको रूपमा पर्दामा साथ दिएका छन्।

माइकल इन्टरटेन्मेन्ट हाउसको ब्यानरमा निर्माण भएको यस चलचित्रमा उपेन्द्र शाही र श्वेता विमलीको मुख्य लगानी रहेको छ। किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार कार्यकारी निर्माता रहेको यस प्रोजेक्टमा तेजराज चटौत र दमन बहादुर चन्द सह–निर्माताका रूपमा जोडिएका छन्। चलचित्रको प्राविधिक पक्षलाई निकै सबल बनाइएको छ। मानकृष्ण महर्जनको डीओपी र शेर बहादुर लामाको छायाङ्कन रहेको फिल्ममा श्री श्रेष्ठले द्वन्द्व निर्देशन गरेका छन्। साहिल खानले तयार पारेको यो आकर्षक ट्रेलरको पछाडि बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी र नवाज अन्सारीको सांगीतिक सिर्जना तथा काला चरणको पृष्ठभूमि सङ्गीत सुन्न सकिन्छ। काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रिब्यूसनले यस चलचित्रलाई देशभर वितरण गर्ने जिम्मा लिएका छन्।

ट्रेलर रिलिज कार्यक्रममा सञ्चारकर्मीहरूसँग बोल्दै नायक बिराज भट्टले ‘राम नाम सत्य’लाई विशुद्ध मारधाडको फिल्म मात्र नभई प्रेमकथा, सस्पेन्स र पारिवारिक संवेदनाको पूर्ण प्याकेज भएको दाबी गर्दै दर्शकको मन जित्नेमा आफू विश्वस्त रहेको बताए। सोही अवसरमा नायक सुशील श्रेष्ठ, नायिका दिव्या रायमाझी र सुपुष्पा भट्टले पनि चलचित्रलाई लिएर निकै उत्साह प्रकट गरेका थिए। यस्तै, निर्देशक चन्दले आफूले विगत पाँच वर्षदेखि यसै चलचित्रको कथामा निरन्तर काम गरिरहेको खुलाउँदै दर्शकको रोजाइ र अपेक्षामा खरो उत्रिन निर्माण पक्षले कुनै पनि कसर बाँकी नराखेको प्रष्ट पारे।

ट्रेलर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu