इरानी चलचित्र ‘माइ डटर्ज हेयर’ को प्रदर्शनसँगै ९औँ ‘निफ’ को भव्य उद्घाटन



विश्वभरका चलचित्रकर्मी र सिनेमाप्रेमीहरूको जमघट गराउने उद्देश्यसहित नवौँ संस्करणको ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) बिहीबारदेखि सङ्घीय राजधानी काठमाडौंमा सुरु भएको छ। सुन्धारास्थित सिभिल मलको क्यूएफएक्स हलमा हिशान्त फराहमन्दद्वारा निर्देशित इरानी चलचित्र ‘माइ डटर्ज हेयर’को विशेष प्रदर्शनसँगै महोत्सवको औपचारिक सुरुवात गरिएको हो। विविध संस्कृति र कथा बोकेका सिनेमाहरूको यो उत्सव आगामी चैत २३ गतेसम्म चल्नेछ।

उद्घाटन समारोहमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशिष्ट व्यक्तिहरूको बाक्लो उपस्थिति रहेको थियो। नेपाल सरकारकी सञ्चार सचिव लक्ष्मीकुमारी बस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कूटनीतिक क्षेत्रका प्रतिनिधिहरूले पनि सहभागिता जनाएका थिए। नेपालका लागि ब्राजिलका राजदूत कार्लोस अल्बर्टो डेन हार्टोग, पाकिस्तानी राजदूत अब्रार एच हास्मी र श्रीलंकाली राजदूत रुवन्थी डेलपिटियाले विशेष अतिथिको रूपमा महोत्सवको शोभा बढाएका थिए। यसैगरी, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी र बलिउडको बहुचर्चित चलचित्र ‘शोले’का निर्देशकo तथा निर्माता रमेश सिप्पीको उपस्थितिले कार्यक्रमलाई थप ओजपूर्ण बनाएको थियो। समारोहमा नेपालको पहिलो रंगीन चलचित्र ‘कुमारी’का निर्देशक प्रेम बस्नेत, वरिष्ठ अभिनेत्री चैत्यदेवी सिंह र निर्देशक समुद्र रेग्मी लगायतका अग्रज नेपाली चलचित्रकर्मीहरूलाई अतिथिका रूपमा स्वागत गरिएको थियो।

समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि सञ्चार सचिव बस्नेतले यस्ता अन्तर्राष्ट्रिय स्तरका महोत्सवले नेपाली चलचित्रको बजार प्रवर्द्धन गर्नुका साथै विश्व चलचित्र उद्योगसँगको व्यावसायिक र सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन्। विशेष अतिथिको मन्तव्य राख्दै भारतीय निर्देशक रमेश सिप्पीले कृत्रिम बौद्धिकता (एआई) को बढ्दो प्रभाव र चुनौती रहेको वर्तमान समयमा पनि चलचित्र महोत्सवहरूको सान्दर्भिकता र महत्व उत्तिकै रहेको औंल्याए। त्यस्तै, ब्राजिलियन राजदूत हार्टोगले महोत्सवको सफलताको कामना गर्दै आफ्नो देशबाट छनोट भएका चलचित्रका कथावस्तुबारे प्रकाश पारेका थिए भने पाकिस्तानी राजदूत हास्मीले आफू निफमा तेस्रो पटक सहभागी हुन पाउँदा निकै खुसी लागेको बताए। महोत्सवका अध्यक्ष केपी पाठकले निमन्त्रणा स्वीकार गरी देश-विदेशबाट पाल्नुभएका सम्पूर्ण अतिथि, चलचित्रकर्मी र सञ्चारकर्मीप्रति हार्दिक आभार प्रकट गरेका थिए।

यस वर्षको निफमा विश्वका ४० वटा देशबाट छनोट गरिएका कुल ८८ वटा चलचित्रहरू प्रदर्शन हुँदैछन्। आयोजकका अनुसार प्रतिस्पर्धात्मक विधाबाहेक ६ वटा चिनियाँ र ४ वटा रुसी चलचित्रलाई विशेष प्रदर्शनको रूपमा राखिएको छ। महोत्सव अवधिभर ‘रसियन हाउस’मा ‘रसियन फिल्म डेज’ आयोजना हुनेछ, जहाँ दर्शकले तोकिएका दिनहरूमा निःशुल्क रूपमा सिनेमा हेर्न पाउनेछन्। यसैगरी, महोत्सवमा ‘सिजाङ प्यानोरमा’ नामक अर्को विशेष खण्ड पनि समावेश गरिएको छ, जसअन्तर्गत नेपाल पर्यटन बोर्ड र छायाँ सेन्टरमा ६ वटा चिनियाँ चलचित्र र वृत्तचित्रहरूको निःशुल्क प्रदर्शन गरिने व्यवस्था मिलाइएको छ। यद्यपि, प्रतिस्पर्धामा समावेश भएका चलचित्रहरू भने सिभिल मल र छायाँ सेन्टरमा सशुल्क हेर्नुपर्नेछ। चलचित्र प्रदर्शनका अतिरिक्त, निफअन्तर्गत १० वटा छुट्टाछुट्टै अन्तर्क्रियात्मक कार्यक्रमहरू पनि सञ्चालन हुनेछन्, जसमा विभिन्न देशका अनुभवी चलचित्र निर्माता तथा निर्देशकहरूले आफ्नो ज्ञान, संघर्ष र अनुभव आदानप्रदान गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu